नेपाल पत्रकार महासंघकी पूर्वकेन्द्रीय लेखा समिति सदस्य मिरा राजभण्डारी अमात्यको असामयिक निधन भएको दुःखद् खबरले महासंघ स्तब्ध र मर्माहत

 

मिति : २०८३।०४।२६

नेपाल पत्रकार महासंघकी पूर्वकेन्द्रीय लेखा समिति सदस्य मिरा राजभण्डारी अमात्यको असामयिक निधन भएको दुःखद् खबरले महासंघ स्तब्ध र मर्माहत भएको छ ।

पछिल्लो समय अमेरिकामा रहनु भएकी राजभण्डारीको केही महिनाअघि उपचारका क्रममा निधन भएको खबर पारिवारिक स्रोतबाट यही साउन २५ गते सार्वजनिक भएको छ ।

दुई दशकभन्दा बढी पत्रकारितामा योगदान दिनुभएकी राजभण्डारी सामाजिक र सांस्कृतिक विषयमा कलम चलाउँदै आउनुभएको थियो । विशेष गरी नेवार समुदायको संस्कृति, धर्म र सामाजिक मुद्दाहरूमा लेख रचनामार्फत विचार उठान गर्दै आउनुभएकी राजभण्डारीले महासंघमा २०७४।०५।०६ देखि २०७७।१२।२५ लेखा समिति सदस्यको जिम्मेवारी निभाउनु भएको थियो ।

पत्रकार महिलाको सवालमा सधैं अग्रणी भूमिका निर्वाह गर्दै आउनु भएकी राजभण्डारीको निधनले नेपाली पत्रकारिता जगतले एक जना जुझारु, अनुभवी, निर्भीक पत्रकार महिलालाई गुमाउनुका साथै महासंघले एक सक्रिय सदस्य गुमाएको छ ।

महासंघ स्वर्गीय राजभण्डारीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव