जिल्ला अदालत काठमाडौँले विद्युतीय कार बीवाईडीको नेपालस्थित आधिकारिक बिक्रेता साईमेक्स ईन्क प्रालिसम्बन्धी बिजनेसन्युज डटकममा प्रकाशित समाचार हटाउन र प्रसारण नगर्न गरेको अन्तरिम आदेशप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

मिति : २०८३/०३/०९

जिल्ला अदालत काठमाडौँले विद्युतीय कार बीवाईडीको नेपालस्थित आधिकारिक बिक्रेता साईमेक्स ईन्क प्रालिसम्बन्धी बिजनेसन्युज डटकममा प्रकाशित समाचार हटाउन र प्रसारण नगर्न गरेको अन्तरिम आदेशप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

अदालतले २०८३ जेठ २५ मा भएको अन्तरकालीन आदेशलाई निरन्तरता दिँदै निवेदनको अन्तिम टुङ्गो नलागेसम्म समाचार सामग्रीहरू बिजनेश भेन्चर मिडिया प्रालिद्वारा सञ्चालित सञ्चारमाध्यम तथा अनलाइनमा प्रकाशन/प्रसारण नगर्नु/नगराउनु र प्रकाशन/ प्रसारण भएका उक्त सामाग्री थप सम्प्रेषण हुन नदिनु र आफ्ना सबै अनलाइन माध्यमबाट तुरुन्तै हटाउनु भनी आदेश गरेको महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघले जनाएको छ ।

जुन आदेश पत्रकार आचारसंहिता २०७३ को ५ (८) मा अनलाइन सञ्चारमाध्यमबाट प्रकाशन/प्रसारण भएको समाचार (पोष्ट डिलिट) हटाउनु हुँदैन भन्ने प्रावधानसँग पटक्कै मिल्ने देखिएन ।

समाचारको सत्यता परीक्षण गर्न कानुनद्वारा स्थापित प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारसँग पनि आदेशको तादाम्यता नमिल्ने महासंघको बुझाई छ ।

समाचारमा समावेश भएका तथ्य सही हुन् कि गलत भन्ने निष्कर्षमा नपुगी समाचार हटाउनु भनेर आदेश दिएबाट स्वतन्त्र पत्रकारिताको मूल मर्ममा प्रहार हुनुको साथै प्रमाण नष्ट हुनसक्ने खतरा निम्त्याएको छ ।

अतः विगतमा अदालतबाट अनलाइन सञ्चारमाध्यमहरूमा प्रकाशित समाचार हटाउनु भनी जारी अन्तरिम आदेशहरू अन्तिममा खारेज भएको नजिर समेतलाई मध्यनजर गर्दै सम्मानित अदालतबाट अन्तरिम आदेशमा संशोधन हुने र प्रेस स्वतन्त्रताको रक्षा हुनेमा महासंघ विश्वस्त छ ।

महासंघ अदालतको सम्मान गर्दै अन्तिम फैसला स्वीकार गर्न तथा संविधान, कानुन र पत्रकार आचारसंहिताको पालना गर्न सबै आमसञ्चारमाध्यमलाई आग्रह गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव