पत्रकार बख्तियार अलीमाथि भएको दुर्व्यवहार तथा धम्कीको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मिति : २०८३/०२/०७

पत्रकार बख्तियार अलीमाथि भएको दुर्व्यवहार तथा धम्कीको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

लोकतन्त्रखबर डटकममा प्रकाशित समाचारमा चित्त नबुझेको भन्दै मलंगवास्थित सुस्ति सोम्य हेल्थ केयरका सञ्चालक डा.गुणेश्वर झाले फोन गरी पत्रकार अलीलाई अपशब्द प्रयोग गर्दै धम्की दिएको महासंघ सर्लाही शाखाले जनाएको छ ।

सर्लाही मेडिया हाउस र डेली न्यूज अपडेट नामको फेसबुक पेज बनाएर पत्रकार अलीको चरित्रहत्या गरिनुका साथै ज्यान मार्नेसम्मको धम्की आएको पनि शाखाले जनाएको छ । महासंघ यस घटनाको भत्र्सना गर्दछ ।

प्रकाशित समाचारप्रति असहमती भए विधिसम्मत समाधान खोज्नु पर्नेमा पत्रकारलाई गालीगलौज तथा धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी हर्कत हो ।

महासंघ यस घटनाको सत्यतथ्य छानबिन गरी दोषिमाथि कारबाही गर्न र पत्रकारको सुरक्षामा गम्भीर हुन सम्बन्धित निकायको ध्यानाकर्षण गराउदछ ।

रामप्रसाद दाहाल

महासचिव