पत्रकारहरूलाई खोला उत्खनन कार्यमा संलग्न व्यक्तिहरूले भौतिक आक्रमणको धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

मिति : २०८३।०१।१७

पत्रकारहरूलाई खोला उत्खनन कार्यमा संलग्न व्यक्तिहरूले भौतिक आक्रमणको धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

यही वैशाख १५ गते मोरङको ग्रामथान गाउँपालिका–४ स्थित लोहन्द्रा खोलामा भइरहेको उत्खनन कार्यको समाचार संकलनमा गएका पत्रकार डुमरलाल मेहता, मोहन ढकाल, सन्तोष मेहता, नगेन्द्र खड्का, प्रवेश तिम्सिना, ब्रम्हदेव महतो र दीपेन्द्रकुमार साहलाई पुनः आए ज्यान मार्ने धम्की आएको महासंघ मोरङ शाखाले जनाएको छ ।

उक्त गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीलेसमेत पत्रकारलाई धम्क्याएको शाखाको भनाइ छ ।

सार्वजनिक सरोकारका विषयमा नागरिकलाई सुसूचित गराउने धर्म निर्वाह गर्दा पत्रकारमाथि अपनाइएको यो शैली अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो ।

महासंघ पत्रकारको ज्यान लिने धम्की दिनेहरूलाई कानुनी दायरामा ल्याउन माग गर्दछ । आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन र पत्रकारलाई निर्वाध एवं सुरक्षित पत्रकारिताको वातावरण निर्माणका लागि सम्बन्धित निकायसँग आग्रह गर्दछ ।

………………

रामप्रसाद दाहाल

महासचिव