मिति : २०८३।०८।०६
पत्रकार कबिन्द्र शेर्मा (कालीबहादुर) को ४२ वर्षको अल्पायुमै भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ ।
घाँटीको क्यान्सर रोगसँग संघर्ष गरिरहनु भएका शेर्माको भक्तपुरस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा यही मंसिर ४ गते शुक्रबार राति निधन भएको महासंघको पाँचथर शाखाले जनाएको छ ।
रेडियो नेपालबाट पत्रकारिता सुरु गर्नु भएका शेर्माले न्यूज २४ टेलिभिजनलगायत विभिन्न पत्रपत्रिकामा संवाददाता भई काम गर्नुभएको थियो । पाँचथरमा सुम्हात्लुङ एफएम, इगल एफएम र पाँचथर एफएम स्थापना र सञ्चालनमा शेर्माको नेतृत्वदायी भूमिका रहेको थियो ।
महासंघ पाँचथर शाखाका पूर्वकोषाध्यक्ष शेर्माको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी, कर्मठ, कुशल र जुझारु युवा पत्रकार गुमाएको छ भने महासंघले सक्रिय सदस्य गुमाएको छ ।
महासंघ स्वर्गीय शेर्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस दुःखद् घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासहित गहिरो समवेदना प्रकट गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव