मिति : २०८३।०६।१४
लोककल्याणकारी विज्ञापनको रकम आधासम्म कटौती गरिएपछि मारमा परेका देशभरका स्वरोजगारमूलक छापामाध्यमको आवाज लिएर नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालबीच समस्या समाधानार्थ २०८३ असोज १३ गते छलफल हुँदा दुबैतर्फबाट भनाभन भएको तथा अन्त्यमा हार्दिकतापूर्वक बिदा भएको तथ्यलाई ख्यालै नगरी महासंघका पूर्वकेन्द्रीय लेखा समिति संयोजक दीपक पाण्डेलाई लाञ्छित गर्ने गरी काउन्सिलका नाममा जारी भएको प्रेस विज्ञप्तिले महासंघलाई गम्भीर बनाएको छ ।
समस्या समाधान गर्ने सहमति जनाएको काउन्सिलको नाममा छलफलमा समावेश नै नभएका काउन्सिलका सदस्यहरूले एकपक्षीय रूपमा यसरी वक्तव्यबाजी गर्नुले सञ्चारमाध्यम र पत्रकारको अभिभावकीय भूमिका निर्वाह गरिरहेको काउन्सिलकै प्रतिष्ठामा चोट पुग्नुको साथै यसको सन्तुलनकारी भूमिकामाथिसमेत प्रश्न उठाएको महासंघको बुझाइ छ ।
महासंघसहित छापामाध्यम सुझाव कार्यदलका प्रतिनिधि र काउन्सिलका अध्यक्षबीच छलफल हुँदा भएको सामान्य नोकझोकलाई अतिरञ्जित गर्दै काउन्सिलबाट सार्वजनिक रुपमा व्यक्ति लक्षित विज्ञप्ति जारी गरिएको महासंघको काठमाडौं शाखाले जनाएको छ ।
वार्ताबाट समस्या सुल्झिसकेको अवस्थामा छलफलमा अनुपस्थित काउन्सिलका चार जना बोर्ड सदस्यको संयुक्त हस्ताक्षरबाट जारी भएको एकपक्षीय विज्ञप्ति काउन्सिलको संस्थागत हो वा होइन भन्ने प्रश्न खडा भएको शाखाको धारणामा महासंघ केन्द्रीय समिति ऐक्यवद्धता जनाउँदछ ।
महासंघ काउन्सिलजस्तो गरिमामय र सन्तुलनकारी निकायका नाममा आएको व्यक्ति लक्षित विज्ञप्ति फिर्ता लिई वातावरणलाई सहज बनाउन सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदछ ।
……………….
रामप्रसाद दाहाल
महासचिव