भीषण बाढीका कारण पत्रकार र पत्रकारका परिवार सम्पर्कविहीन : खोजी कार्यलाई तीव्रता दिन महासंघकाे माग

 

मिति : २०८३।०५।११
रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण पत्रकार र पत्रकारका परिवार सम्पर्कविहीन भएको खबर नेपाल पत्रकार महासंघलाई प्राप्त भएको छ ।

समाचार संकलनका लागि केरुङ हुँदै तिब्बततर्फ गएका नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य टेकराज थामी केरुङबाट सम्पर्कविहीन भएको खबर परिवारबाट प्राप्त भएको छ । यस्तै नुवाकोटको विदुर–७ बाट पत्रकार निराजन पौडेलका परिवारका पाँच जना सदस्य सम्पर्कविहीन भएको जानकारीमा आएको छ । बुबा, आमा, काका, काकी र बहिनी सम्पर्कविहीन भएको पत्रकार पौडेलले जानकारी गराएका छन् ।

महासंघ तत्काल आवश्यक पहल गरी उहाँहरूको खोजी कार्यलाई तीव्रता दिन सम्बन्धित निकायसँग जोडदार माग गर्दछ ।

बाढी प्रभावित क्षेत्रमा विद्युतीय आपूर्ति बन्द भई सञ्चार सेवा अवरुद्ध हुँदा सञ्चारमाध्यम सञ्चालनमा असर पुगेको छ । यसर्थ सञ्चार सेवा नियमित गर्न आवश्यक व्यवस्था मिलाउन सम्बद्घ निकायसंग महासंघ माग गर्दछ । ती सञ्चारमाध्यम सञ्चालनका लागि वैकल्पिक व्यवस्थामा सहयोग गर्न पनि सबैमा अपिल गरिन्छ ।

रामप्रसाद दाहाल
महासचिव