मितिः २०८३।०२।११
रानीसैनमा भएको घटनामा संलग्न व्यक्तिहरूले समाचार संकलनमा रहेका पत्रकारका सञ्चार सामग्री तोडफोड, लुटपाट गरी भौतिक आक्रमणको धम्की समेत दिएकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
यही जेठ ३ गते उक्त घटनाको समाचार संकलनमा पुगेका पत्रकार उमेशबहादुर शाहीको ड्रोन क्यामरा नियन्त्रणमा लिई तोडफोड गरिएको, पत्रकार जनक बोहरा, अनिल शाही, जीतजंग कटेललाई तीन दिन सम्पर्कविहीन गराएको र खिचेको भिडियो मेटाउन लगाएको महासंघ बाजुरा शाखाले जनाएको छ । जेठ ३ देखि ५ गतेसम्म सम्पर्कविहीन उनीहरू जेठ ६ गते शाखाको सम्पर्कमा आएको जनाइएको छ ।
सो क्रममा पत्रकार प्रकाशबहादुर सिंहसहित शाही र कटेललाई सामाजिक सञ्जालमा गालीगलौज र ज्यान मार्ने धम्की दिएको शाखाको भनाइ छ ।
प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सामाजिक अपराधजन्य यो हर्कतको महासंघ कडा भर्त्सना गर्दछ । र, घटनाको छानबिन गरी दोषीउपर तत्काल कानुनी कारबाहीका लागि सम्बन्धित निकायसँग माग गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव