पत्रकार अर्जुनकुमार थपलियालाई गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले ज्यान लिने धम्की दिएको घटनाप्रति महासंघको ध्यानाकर्षण

 

मिति : २०८०/१२/२७

नेपाल पत्रकार महासंघ, सिरहा शाखाका सदस्य तथा दावानल डटकमका कार्यकारी सम्पादक अर्जुनकुमार थपलियालाई गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले प्रकाशित समाचारको विषयमा गालीगलौजसहित ज्यान लिने जस्ता धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपाल पत्रकार महासंघ सिरहा शाखाका अनुसार अधिकृत केसीले पत्रकार थपलियालाई गालीगलौज तथा ज्यान लिने धम्की दिएको अडियो सार्वजनिक भएको छ ।

प्रकाशित समाचारप्रति असहमति रहे उजुरी गर्ने निकाय हुदाँहुदै पत्रकारमाथि हुने यस किसिमका घटनाको महासंघ विरोध गर्दछ । महासंघ पत्रकारको पेशाप्रति सम्मान गर्न माग गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँछ ।

 

रोसन पुरी

महासचिव