नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव विजय रानालाई समाचार संकलनका क्रममा प्रहरीले कुटपिट गरी घाइते बनाइएको घटनाप्रति महासंघको ध्यानाकर्षण

 

मिति : २०८०।०९।२२

नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव विजय रानालाई समाचार संकलनका क्रममा प्रहरीले कुटपिट गरी घाइते बनाइएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

महासंघ बागलुङ शाखाका अनुसार पुस २१ गते शनिबार बागलुङको धौलागिरी बहुमुखी क्याम्पस प्राङ्गणमा चलिरहेको बागलुङ महोत्सव हेर्न आएका सर्वसाधारणमाथि महोत्सव सकेर निस्कने क्रममा राति १०ः३० बजेको समयमा प्रहरीले लाठीचार्ज गरेको थियो ।

 सोही घटनाको तस्बीर तथा भिडियो खिच्ने क्रममा प्रहरीले पत्रकार रानालाई निर्घात कुटपिट गरी गम्भीर घाइते बनाउनुका साथै उहाँको मोवाइल फोनसमेत खोसेको शाखाले जनाएको छ ।

 संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको उपभोगका क्रममा पत्रकारमाथि प्रहरीबाट भएकोे यो ज्यादती प्रेस स्वतन्त्रताविरुद्ध हुनुका साथै अत्यन्त निन्दनीय हर्कत हो । नागरिकको सुरक्षाको जिम्मेवारी वहन गर्ने प्रहरीबाट भएको यो घटनाले प्रेसको सुरक्षा अवस्था चुनौतीपूर्ण रहेको थप दर्साएको छ ।

 महासंघ प्रेस स्वतन्त्रताविरुद्धको यो ज्यादतीमा संलग्नमाथि तत्काल कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइ प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न र पत्रकारको सुरक्षामा गम्भीर बन्न सम्बन्धित निकायसँग माग गर्दछ । साथै, घाइते पत्रकार रानाको उपचारको व्यवस्था गर्न पनि माग गर्दछ ।

रोसन पुरी
महासचिव