कान्तिपुर मिडिया ग्रुपबाट बलपूर्वक निष्कासन तथा गैरकानुनी सरुवा गरिएका पत्रकारको अधिकार प्राप्तिका लागि नेपाल पत्रकार महासंघले गरिरहेको भद्र आन्दोलनका बारेमा नेपाल मिडिया सोसाइटीको नाममा आएका आक्षेप र टिप्पणीप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

 

 

मिति : २०८०।०७।०२

कान्तिपुर मिडिया ग्रुपबाट बलपूर्वक निष्कासन तथा गैरकानुनी सरुवा गरिएका पत्रकारको अधिकार प्राप्तिका लागि नेपाल पत्रकार महासंघले गरिरहेको भद्र आन्दोलनका बारेमा नेपाल मिडिया सोसाइटीको नाममा आएका आक्षेप र टिप्पणीप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।


सोसाइटीले जारी गरेको विज्ञप्ति आम श्रमजीवी पत्रकारको कानुनी अधिकारको विरुद्धमात्र नभएर नेपाल पत्रकार महासंघमाथि प्रहार गर्ने उद्देश्यले पे्ररित रहेको महासंघको निष्कर्ष छ ।


कान्तिपुरमा कार्यरत ८२ जना पत्रकारलाई श्रमजीवी पत्रकार ऐनको विरुद्ध निष्कासन र सरुवा गरिएको साश्वत सत्यलाई बिर्सिएर महासंघविरुद्ध गरिएका अनेकौं कुतर्कको कुनै अर्थ नरहने स्पष्ट छ । सोसाइटीको नाममा आएको स्तरहीन विज्ञप्तिप्रति थप टिप्पणी गर्न महासंघ आवश्यक ठान्दैन । सोसाइटीमा आवद्ध सदस्य संस्थामा श्रमजीवी ऐनलगायतका कानुन पालना नभएकोबारे महासंघमा गुनासो छ । अतः श्रमजीवी पत्रकार ऐन आफ्नो संस्थामा तत्काल कार्यान्वयन गर्न महासंघ सोसाइटीको ध्यानाकर्षण गराउँदछ ।

 
साथै, केही दिनदेखि विभिन्न नाममा महासंघविरुद्ध भएका मिथ्या प्रचारले कान्तिपुरभित्र सम्पादकीय स्वतन्त्रता गम्भीर संकटमा परेको महासंघको निष्कर्ष छ ।


नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपमा थालेको आन्दोलन स्वरुप परिवर्तन गरेको छ । कात्तिक ३ गतेदेखि ‘डिजिटल प्लेटफर्म’ मार्फत आन्दोलन जारी राख्ने निर्णय गरिएको जानकारी गराइन्छ । दसैं विदापश्चात आन्दोलनलाई अन्तर्राष्ट्रिय समुदाय, नागरिक समाज र नागरिक तहलाईसमेत जोड्दै थप सशक्त र परिणाममूखी बनाइने छ ।

..............
रोसन पुरी
महासचिव