नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐनअनुसार पत्रकारले उठाएका जायज माग यथाशीघ्र सम्बोधनका लागि दबाब दिने उद्देश्यले कान्तिपुर मिडिया ग्रुपविरुद्ध अनिश्चितकालीन दबाबमूलक आन्दोलनको घोषणा

 

मिति : २०८०।०६।२९

नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐनअनुसार पत्रकारले उठाएका जायज माग यथाशीघ्र सम्बोधनका लागि दबाब दिने उद्देश्यले कान्तिपुर मिडिया ग्रुपविरुद्ध अनिश्चितकालीन दबाबमूलक आन्दोलनको घोषणा गरेको छ ।

कान्तिपुर मिडिया ग्रुपमा लामो समयदेखि उब्जिएको श्रमजीवी पत्रकारको समस्याका सवालमा पछिल्लो समय कान्तिपुरको व्यवस्थापन पक्ष र पत्रकारका प्रतिनिधिबीच भएको सहमतिलाई वहुसंख्यक पत्रकारले अस्वीकार गरेपछि श्रमजीवी पत्रकार ऐनअनुसार पत्रकारले उठाएका जायज माग यथाशीघ्र सम्बोधनको लागि दबाब सिर्जना गर्न नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको हो ।

घोषित कार्यक्रमअनुसार नेपाल पत्रकार महासंघले २०८० असोज ३० गते मंगलबार दिउँसो ३ः०० बजेदेखि ४ः०० बजेसम्म थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपमा १ घण्टा धर्ना दिने कार्यक्रम रहेको जानकारी गराइन्छ । यो धर्ना श्रमजीवी पत्रकार ऐनअनुसार पत्रकारले उठाएका जायज मागहरू पूरा नभएसम्म जारी रहने सबैमा जानकारी गराइन्छ ।

व्यवस्थापन पक्षले निष्कासन गरेका ८२ पत्रकारको पुनर्वहाली, अनधिकृत सरुवाको बदर र श्रमजीवी पत्रकार ऐनको पूणर् कार्यान्वयलगायतका मागहरू अविलम्ब पूरा गर्न नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपसमक्ष पटकपटक आग्रह गर्दै आइरहेको थियो ।

घोषित कार्यक्रममा सक्रिय सहभागिता जनाउन नेपाल पत्रकार महासंघ उपत्यकास्थित आफ्ना सबै शाखाका पदाधिकारी, सदस्य तथा विभिन्न सञ्चारगृहमा कार्यरत श्रमजीवी पत्रकार, पत्रकारका संघसंगठनका प्रतिनिधिलगायत श्रमजीवी पत्रकारका पक्षधर सबैमा हार्दिक आग्रह गर्दछ ।

...................

राेसन पुरी

महासचिव