समाचार संकलनका क्रममा धादिङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले पत्रकारमाथि अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मिति : २०८०।०६।१८

हिमालय टेलिभिजनमा कार्यरत पत्रकार समीर जोशी र क्यामेरा पर्सन जीवन सुवेदीलाई समाचार संकलनका क्रममा धादिङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

असोज १६ गते मंगलबार धादिङको सिद्धलेख–६ परेवाटारमा उत्पादित एरोमा नामको शिल लगाइएको खानेपानीको बोतलमा किरा भेटिएको थियो । सोही विषयका सम्बन्धमा असोज १७ गते बुधबार जिल्ला प्रशासन कार्यालय धादिङ पुगेर समाचार संकलनका लागि चासो राख्दा सहायक प्रमुख जिल्ला अधिकारी पराजुलीले पत्रकारद्वयमाथि गैरजिम्मेवार रुपमा प्रस्तुत हुँदै दुर्व्यवहार गरेको महासंघ हिमालय टेलिभिजन प्रतिष्ठान शाखाले जनाएको छ ।

मानिसको स्वास्थ्यसँग जोडिएको विषयमा पत्रकारले राखेको जिज्ञासाप्रति सार्वजनिक पदधारी जिम्मेवार व्यक्तिबाट गैरजिम्मेवारी शैली प्रदर्शन हुनु अत्यन्त निन्दनीय र असोभनीय हर्कत हुनुका साथै प्रेस स्वतन्त्रताविरोधी काम हो । महासंघ प्रेसको संवैधानिक अधिकारको ख्याल गर्न र प्रेसविरोधी यस्ता हर्कत दोहोरिन नदिनका लागि आवश्यक कदम चाल्न सम्बन्धित निकायसँग माग गर्दछ ।

 

रोसन पुरी

महासचिव