महिला पत्रकार फुटबल प्रतियोगिता सम्पन्न
२०७५ साउन १३

नेपाल पत्रकार महासंघ महिला समितिको आयोजनामा साउन १२ गते भएको महिला फुटबल प्रतियोगिताको उपाधि प्रिन्ट मिडियाले हात पारेको छ । 
सातदोबाटोस्थित एन्फा मैदानमा खेलाइएको उक्त फुटवल खेलको माननीय युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (विश्वकर्मा) ले रेफ्रिलाई बल हस्तान्तरणगरि उद्घाटन गर्नुभएको थियो । 
नेपाल पत्रकार महासंघ महिला समिति संयोजक लक्ष्मी पुनले यो आयोजना महिला पत्रकारका लागि कोष स्थापन गर्नका लागि भएको बताउनु भयो । उहाँले धेरै कार्यक्रमा मार्फत महिला पत्रकारहरुसंग अन्तरघुलन हुनुका साथै बिचार आदान प्रदान भयो भएको बताउनु भयो । 
उहाँले सहयोग गर्ने संघसंस्था, सहभागी खेलाडि र कार्यक्रमा उपस्थित सबैलाई धन्यबाद दिनुभयो । 
‘महिला पत्रकार कोषका लागि एक गोल’ भन्ने नाराका साथ महिला पत्रकार कोष स्थापना गर्ने उद्देश्यले रेडियो, छापा, टीभी र अनलाइनमा कार्यरत महिला पत्रकारहरुबीच खेलाइएको फुटवल खेलमा अनलाइन मिडियालाई २–१ गोलले पराजित गर्दै छापामाध्यमले उपाधि जितेको हो । 
खेल जारी रहेकै बेला रातपरेपछि खेल बीचमै रोकेर पेनाल्टीमार्फत विजेता घोषित गरिएको थियो । विजेता टोली प्रिन्टका लागि पून्यवती ढकाल र भाषा शर्माले गोल गरेका थिए भने अनलाइनका तर्फबाट मुना कार्कीले गोल गरेकी थिइन ।
विजेता टोली प्रिन्ट मिडियाले रेडियोलाई १–० गोलले र उपविजेता अनलाइनले टेलिभिजनलाई २–१ ले पराजित गर्दै फाइनलमा पुगेका थिए ।
तेस्रो स्थानको लागि निर्धारित २० मिनेटको खेलमा गोल गर्न नसकेपछि प्रतियोगितामा सहभागी रेडियो र टेलिभिजनलाई संयुक्तरुपमा तेस्रो स्थान घोषणा गरिएको थियो ।
विजेता तथा उपविजेता टोलीलाई नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, महासचिव रमेश विष्ट, लगायत महासंघका पदाधिकारी तथा सदस्यहरुले ट्रफी प्रदान गर्नुभएको थियो ।