महासंघ केन्द्रीय समितिको दोस्रो बैठक काभ्रेको धुलिखेलमा सम्पन्न
२०७४ आश्विन २७

२०७४।०६।२७
नेपाल पत्रकार महासंघको २५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको दोस्रो पूर्ण बैठक काभ्रेपलाञ्चोकको धुलिखेलमा मिति २०७४ असोज २६ र २७ गते सम्पन्न भयो । नेपाल पत्रकार महासंघ काभ्रे शाखाको आतिथ्यता तथा अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा बसेको बैठकले गरेका निर्णयहरू निम्नानुसार छन् ।

१. प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोगका लागि लोकतन्त्र, मानवअधिकार, विधिको शासन, स्वतन्त्र न्यायपालिका, आवधिक निर्वाचन र राज्यका सबै निकायमा समानुपातिक तथा समावेशी सहभागिताका लागि महासंघको प्रष्ट अडान रहँदै आएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन पार्ने संविधानका केही व्यवस्था तथा कानुनी व्यवस्थाको परिमार्जनका लागि जोडदार माग गरिएको छ ।

२. श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि दबाबमूलक अभियान चलाउने निर्णय गरिएको छ । त्यसका लागि आन्दोलन र कानुनी पक्ष समेटेर कार्ययोजना तय गरिएको छ । सञ्चार प्रतिष्ठानमा रहेका महासंघका शाखाहरूलाई ट्रेड युनियनमा दर्ता गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने तथा ऐन कार्यान्वयनका लागि सरोकारवाला निकायसंग समन्वय गरेर अगाडि बढ्ने निर्णय गरिएको छ । त्यसका लागि आगामी तीन महिनाभित्र सबै सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकारलाई नियुक्तिपत्र तथा न्यूनतम पारिश्रमिकसहितका सुविधा उपलब्ध गराउन पहल गर्ने निर्णय गरिएको छ । ऐन कार्यान्वयनका लागि केन्द्र, प्रदेश तथा स्थानीय तहमा दबाबमूलक अभियान चलाउन समिति गठन गरिनेछ ।

३. व्यावसायिक पत्रकारिताको विकासका लागि नियमितरूपमा मिडियाको कन्टेन्टका विषयमा मिडिया संवाद सञ्चालन गरिनेछ ।

४. सदस्यता शुद्धीकरणको प्रक्रिया तत्काल थालिनेछ । सदस्यता प्राप्तिको विधानसम्मत व्यवस्थालाई पूर्ण कार्यान्वयन गर्ने निर्णय गरिएको छ । 
५. पत्रकारिताका क्षेत्रमा क्रियाशील विभिन्न संघसंगठनसंगको समन्वयलाई प्राथमिकता दिदै लोकतन्त्र र शान्तिका लािग पेशागत सञ्जाल (पापड) लगायतका विभिन्न पेशागत र नागरिक संस्थासंगको सहकार्यलाई जोड दिने निर्णय गरिएको छ ।

६. रेडियो, टेलिभिजन र अनलाईनको वर्गीकरण गरी सबै प्रकारका सञ्चारमाध्यममा ‘लोककल्याणकारी विज्ञापन’ उपलब्ध गराउनुका साथै साना लगानीका र अति दुर्गम क्षेत्रका मिडियाको प्रवद्र्धनमा ध्यान दिन सरकारको ध्यानकर्षण गराइन्छ । सञ्चारमाध्यमलाई बिजुली, इन्टरनेट र सौर्य उर्जामा विशेष छुटको व्यवस्था गर्न पहल गर्ने निर्णय गरिएको छ ।

७. संविधान अनुसार महासंघका संरचनालाई पूर्णता दिनका लागि आगामी चैतभित्र महासंघका १० वटै प्रदेशको अधिवेशन सम्पन्न गरिनेछ ।

८. मिडियाको प्रवद्र्धन र पत्रकारिताको व्यावसायिक विकासका लागि सातवटै प्रदेशमा आम सञ्चार प्रशिक्षण प्रतिष्ठान गठनका लागि पहल गरिनेछ । प्रदेश नम्बर तीनको कार्यालय काभ्रेमा र प्रतिष्ठानको केन्द्रीय कार्यालय चितवनमा स्थापनाका लागि प्रतिवद्धता व्यक्त गरिएको छ ।

९. नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा इ–लाइब्रेरी स्थापनाको पहल गरिनेछ । इ–लाईब्रेरी स्थापनाका लागि विभिन्न शाखालाई प्रोत्साहन गरिनेछ ।

१०. नेपाल पत्रकार महासंघले यसअघि सरकारसमक्ष प्रस्तुत गरेका मागहरु हालसम्म पनि पूरा नभएकाले तत्काल मागहरूको सम्बोधनका लागि आग्रह गर्ने निर्णय गरिएको छ ।

११. घोषित प्रतिनिधि सभा र प्रदेशको निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न महासंघको बैठकले सरकार र सम्बद्ध राजनीतिक दलहरुलाई आग्रह गर्ने निर्णय गरेको छ ।

१२. बैठकले विभिन्न समिति तथा उपसमिति गठन गर्नुका साथै महासंघको नीति, कार्यक्रम, कार्ययोजनासहित संगठनात्मक प्रस्ताव समेटिएको अध्यक्ष र महासचिवको प्रतिवेदन तथा आर्थिक कार्ययोजना सम्बन्धि कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ ।

१३. नेपाल पत्रकार महासंघको दोश्रो बैठकको आतिथ्यता गर्ने काभ्रे शाखालाई धन्यवाद दिँदै पर्यटकीय नगरी धुलिखेलको पर्यटन प्रवद्र्धनका लागि बैठकले प्रतिवद्धता जनाएको छ ।


.....................
रमेश विष्ट
महासचिव