केन्द्रीय साधारण सभा तथा विधान अधिवेशनको तयारी पूरा 
२०७५ फाल्गुण ०८

पोखरा– बिहीबारदेखि सुुरु हुने नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा तथा विधान अधिवेशनको तयारी पूरा भएको छ । 
महासंघका अध्यक्ष गोविन्द आचार्य र स्थानीय आयोजक महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बुधबार पत्रकार सम्मेलनमार्फत तयारी पूरा भएको बताएको हो । महासंघ केन्द्रीय समितिको गत पुस ६ र ७ गते प्रदेश नम्बर १ को धनकुटामा सम्पन्न बैठकले गरेको निर्णय अनुसार केन्द्रीय साधारणसभा तथा विधान अधिवेशन पोखरामा हुन लागेको र यसका लागि महासंघका अध्यक्ष गोविन्द आचार्यको संयोजकत्वमा मुल समारोह समिति गठन भएको छ । 

महासंघका केन्द्रीय अध्यक्ष आचार्यले अहिलेको केन्द्रीय साधारणसभाले विधान संसोधन पनि गर्ने भएकाले विशेष हुने उल्लेख गर्नु भएको छ । उहाँले महासंघको केन्द्र, प्रदेश र जिल्ला शाखाको नेतृत्व चयन प्रत्यक्ष निर्वाचन प्रणालीबाट गरी महासंघको आन्तरिक जीवन बदल्न सभा महत्वपूर्ण रहने बताउनु भयो । ‘हरेक साधारण सदस्यले एकैपटक केन्द्र, प्रदेश र जिल्ला शाखाका पदाधिकारी चयन गर्ने व्यवस्थाका लागि यो विधान अधिवेशन आयोजना गर्न लागिएको हो’, ‘देशमा राजनीतिक पुनसंरचना भएसंगै महासंघको पनि पुनसंरचना चरणमा हामी छौ ।’ अध्यक्ष आचार्यले बताउनु भयो ।
अध्यक्ष आचार्यले विधान संशोधनसंगै श्रमजीवी पत्रकारको हक अधिकारका लागि सशक्तरुपमा लाग्ने, स्वरोजगारमुलक मिडियाको संरक्षणका लागि राज्यले नीति ल्याउनु पर्ने, प्रेस स्वतन्त्रता विरोधी कानुनको विरोध र प्रेस स्वतन्त्रताको मापदण्डको परिभाषा लगायत क्षेत्रमा पनि यो साधारण सभाले एउटा सन्देश दिने बताउनु भयो । अहिले प्रकाशन र प्रसारण भएका समाचार सामाग्रीको आत्मसमीक्षासमेत गरिने बताउँदै अध्यक्ष आचार्यले ‘समाचार सामाग्रीको स्वनियम गर्न हामी तयार छौ, सरकारले गरिरहनु पर्दैन र शाखालाई पनि बलियो बनाउने र संचार क्षेत्रको समस्या र समाधानका विषयमा गहन बहस हुने विश्वास बताउनु भयो ।

सो अवसरमा महासंघ कास्की शाखा अध्यक्ष श्रेष्ठले साधारणसभाका लागि २७ वटा विभिन्न उपसमिति गठन भई सक्रिय रहेकोे बताउनु भयो । उहाँका अनुसार पश्चिमाञ्चल होटल संघसँगको समन्वयमा ६ सय ५० कोठा बुकिङ गरिएको तथा भिभिआइपी र भिआइपीको बसाइको व्यवस्थापन गरिएको छ  । 
प्रतिनिधिसभाका सम्माननीय सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्ने सभामा देशभरबाट १५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । सभालाई सूचना तथा संचार मन्त्री गोकुल बास्कोटालगायत विभिन्न राजनीतिक दलका नेताले सम्बोधन गर्नेछन । साधारणसभामा उद्घाटनपछि गण्डकी प्रदेश सरकारले अघि सारेको आन्तरिक पर्यटन वर्ष २०१९ को घोषणाका र साँझ सातै प्रदेशका सांस्कृतिक झाँकी कार्यक्रम पनि देखाइनेछ ।