‘६ दिनमा ३ छाक खाइयो, सरकार कहाँ छ ?’
भदौ, झापा । जिल्लामा बाढीका कारण सबैभन्दा बढी क्षति पुगेको ठाउँ हो झापा गाउँपालिका । त्यहाँका बाढीपीडितका व्यथा बुझ्न बुधबार झापा बजार पुगेका अनलाइनखबरकर्मी गौरव पोखरेलले इलाका प्रहरी कार्यालय, कुमरखोदमै अधिकांश बाढी पीडितलाई भेटे । राहत पाउने आशमा उनीहरु त्यहाँ भेला भएका रहेछन् । त्यहाँ भेटिएकी रुक्मिणी राजवंशीले दर्दनाक कथा सुनाइन् । शुक्रबारदेखि अहिलेसम्ममा ३ छाक भात मात्रै खान पाएको उनले बताइन् । उनले आक्रोश व्यक्त गर्दै भनिन्- खोई सरकार कहाँ छ ? पीडितसँगको कुराकानीका क्रममा प्रायःले सरकारी स्तरबाट राहत नपाएको गुनासो गरे । भोट माग्ने बेलामा हरेकको झुपडी पसेको भए पनि विपदका बेलामा कसैले साथ नदिएको उनीहरुको आरोप छ । प्रस्तुत छ, केही बाढी पीडित र बाढी प्रभावित गाउँका स्थानीयका भनाइ जस्ताको तस्तैः- जलिना खातुन, झापा गाउँपालिका-२, सडकबारी शुक्रबार राति करिब ११ बजे सानो माई नदी बढेर गाउँ पस्यो । पानी परिरहेको थियो । घरबाट बल्लबल्ल निस्कियौं । निस्किएको दुई मिनेट पनि नभई घर भत्कियो । अन्नपात, लुगाफाटा सबै बिगार्‍यो । केही बाँकी रहेन । भाँडाकुँडा पनि केही छैन । दुई जना छोरा छन् । अहिले खान नपाएर छोराहरु रुँदैछन् । एउटा १० वर्षको छ । अर्को ७ वर्ष पुग्यो । खान दिने केही छैन । अहिलेसम्म हामीलाई हेर्न गाउँसम्म कोही पुगेको छैन । राहतका नाममा स्थानीय सहकारीले दुई दिनलाई पुग्ने झुजा दियो । अरु केही छैन । आजै के खाने, भरे के खाने निक्कै चिन्ता छ । पक्काको घर थियो । चार कोठे । तर, त्यसको सम्झना मात्र रह्यो । पहिला घर भएको ठाउँको अगाडि सानो झुपडी जस्तो बनाएर बसेका छौं । भोट माग्न आउँदा त धेरै आवश्सन दिएका थिए । तर, अहिले हेर्न कोही आएनन् । महमद पम्पु, सडकबारी हाम्रो घर र भान्सा दुवै बाढीले भत्कायो । राति विरिङ नदी गाउँ पस्दा केही जोगाउन सकिएन । अहिले बस्ने ठाउँ नभएर सानो झुपडी बनाएर बसिरहेका छौं । तर, यो दीर्घकालीन छैन । पछिको कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ताले सताइरहेको छ । राहत लिएर जो आएपनि खाली भुजा मात्र दिन्छ । अरु केही दिँदैन । ओड्ने कमल सम्म छैन । तर, कसैले हामीलाई दिँदैनन् । जो आए पनि भुजा मात्र दिन्छ । जनप्रतिनिधिले पहल गरिदिए हुन्थ्यो । तर, खै किन हो ? अहिलेसम्म वास्ता गरेका छैनन् । दिलिप सुवेदी, स्थानीय अहिलेसम्मको अवस्था हेर्दा राहत ल्याउने वित्तिकै टाठा बाठाहरुले पहिला तान्ने गरेको देखिएको छ । अलि कमजोर मानिसहरुले राहत पाउन सकेका छैनन् । एक ठाउँमा राहत सामग्री राखेर बाढी पीडितलाई बोलाएर बाँडिदा कतिपय अवस्थामा वास्तविक पीडितले राहत पाउन सकेका छैनन् । वास्तविक पीडित त गाउँमा छन् । तर, राहत बजारमा हुँदा गाउँका पीडित त्यहाँसम्म पुग्न सकेकै छैनन् । भयालाल मड्डी, झापा गाउँपालिका-२, पीडित बाढीले गाउँ नै डुबान भयो । घरै जम्मै लग्यो । बसोवास छैन अहिले । अन्यत्रै आश्रय लिएर बस्नु परेको छ । मैले त बाढी आएको राति दुई बजे थाहा पाएँ । अनि, निस्किएर बजारसम्म आइपुगेँ । निस्किँदा भारी वषर्ा पनि भइरहेको थियो । बाबुछोरा निस्किएर सुरक्षित स्थानतर्फ जाँदै थियौं । तर, झण्डै खोलाले हामीलाई पनि बगायो । वल्लवल्ल बचेर बजार आइपुगियो । तर, दुई जना छिमेकीलाई खोला त्यतिबेला लग्यो । भोलिपल्ट शव फेला पर्‍यो । राहत चाहिँ हिजो एक घर बराबर १५ किलो चामल अनि दाल, तेल लगायत पायौं । हामीलाई त्यो लुथरन भन्ने संस्थाले दिएको हो । तर, सरकारी निकायबाट केही सहयोग भएको छैन । (स्राेत:अनलाइनखबर डटकम, http://www.onlinekhabar.com/2017/08/618383/ )