सामुदायिक वनले पशुपालक विस्थापित
केशव भण्डारी (इमेज): बुटवल, माघ ८ । रुपन्देहीका वन सामुदायिक वनमा परिणत गरिएपछि स्थानीयले पशुपालनमा समस्या भएको गुनासो गरेका छन् । सामुदायिक वनमा पहुँच भएकाहरुले हैकम जमाउँदा वर्षौंदेखि पशुपालनबाटै जीविकोपार्जन गर्ने समस्यामा परेका हुन् । कतिपय पशुपालक व्यवसायबाटै विस्थापित भएका छन् । रुपन्देहीमा १०२ ओटा सामुदायिक वन छन् । झन्डै ९ लाख जनसंख्या रहेको रुपन्देहीमा करिब १६ हजारभन्दा बढीले पशुपालन गर्दै आएका छन् । तर, आफ्नो घर वरिपरिको सबै जंगल सामुदायिक वनमा गाभिएको र त्यहाँ आफ्नो पहुँच नभएकाले पशुपालनमा समस्या भएको गुनासो किसानको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० की दिलमाया अधिकारी गाईभैंसी र बाख्रापालनबाट आफ्नो जीविकोपार्जन गर्दै आएकी छन् । अधिकारीले नजिकैको वनबाट घाँसपात ल्याएर पशुपालन गर्दै आइरहेकी थिइन् । तर, नजिकैको जंगल रामनगर सामुदायिक वनमा परिणत भएयता पशुपालनबाट जीविका धान्न उनलाई कठिन भएको छ । दिलमाया त एक प्रतिनिधि पात्रमात्र हुन् । उनीजस्ता हजारौं स्थानीय सामुदायिक वनको पहुँचबाट टाढा छन् । सामुदायिक वन बनेयता घाँस–दाउरा ल्याउन नपाएपछि रुपन्देहीका कतिपय कृषकले पशुपालन नै छाडेका छन् भने कतिले व्यवसाय छाड्ने तयारी गरिरहेका छन् । समुदायको जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले सरकारी वनलाई सामुदायिक वनमा हस्तान्तरण गरिएको भएपनि रुपन्देहीमा भने उल्टो भएको छ । यसले सामुदायिक वनबाट जीविकोपार्जनमा सहयोग पुर्‍याइरहेको भन्ने तथ्यलाई चुनौती दिएको वन विज्ञहरु बताउँछन् । सामुदायिक वन उपभोग गरिरहेकाहरुले वन विनास हुन नदिन जथाभावी पशुपक्षी जंगल लैजान र घाँस–दाउरा काट्न रोक लगाइएको बताउँछन् । वन संरक्षण र व्यवस्थापनका लागि समयअनुसार र पालो मिलाएर विपन्न र गरिब तथा पशुपालन व्यवसायमा संलग्नलाई घाँस–दाउरा ल्याउन दिने गरिएको शंकरनगर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष राम गिरी बताउँछन् । सामुदायिक वन उपभोक्ता महासंघले भने गरिब र विपन्नको आयस्तर बढाउन सामुदायिक वनबाट आएको रकमबाट २० देखि ३५ प्रतिशतसम्म खर्च हुने गरेको जनाएको छ । तर, प्राकृतिक स्रोतमा स्थानीय समुदायको अधिकार र विपन्न गरिब घरपरिवारको आय–आर्जनका लागि ध्यान दिन नसक्दा वनमा आश्रित परिवारहरु भने समस्यामा छन् । Source:http://imagekhabar.com/news/latest/rupandehi/35982