वरिष्ठ पत्रकारद्वय बस्नेत र राणाविरुद्ध पछिल्लो समय सामाजिक सञ्जालमा देखिइरहेका अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

मितिः २०७८।११।२५

वरिष्ठ पत्रकारद्वय बबिता बस्नेत र बन्दना राणाविरुद्ध पछिल्लो समय सामाजिक सञ्जालमा देखिइरहेका अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । पत्रकार बस्नेतले लेखेको लेख र पत्रकार राणाले सामाजिक सञ्जालमा व्यक्त गरेकोे अभिव्यक्तिलाई लिएर उहाँहरूलाई बहिस्कार गर्नेसम्मका अभियान सामाजिक सञ्जालमा देखिनु दुःखद घटना हो ।

पत्रकार बस्नेत वरिष्ठ महिला पत्रकार तथा सम्पादक हुुनुहुन्छ । उहाँहरू अभिव्यक्ति स्वतन्त्रताको पक्षधर र प्रेस स्वतन्त्रता अभियन्ता हुनुहुन्छ ।

कुनै विषयमा लेख रचनामार्फत आफ्नो विचार व्यक्त गर्न पाउनु प्रत्येक व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता हो । कसैले सार्वजनिक रूपमा व्यक्त गरेको विचारको विरोध वा खण्डन गर्न पाउनु पनि अभिव्यक्ति स्वतन्त्रताको अधिकार नै हो । लोकतान्त्रिक सभ्य समाजमा यस्तो विरोध वा खण्डन बहस र अभिव्यक्तिको माध्यमबाट स्वस्थ ढंगबाट नै हुनुपर्छ भन्ने महासंघको मान्यता छ । तर पत्रकार बस्नेत र राणाले राख्नु भएको विचारका कारण उहाँहरूलाई हतोत्साहित गर्ने र बहिष्कार गर्ने जस्ता अभियान चलाइनु उहाँहरूको अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध हुनुका साथै लोकतान्त्रिक समाजलाई सुहाउँदो हुँदैन ।

तसर्थ नेपाल पत्रकार महासंघ यस विषयसम्बद्ध सबैमा बहस र संवादमार्फत नै समस्याको समाधान खोज्न आग्रह गर्दछ ।

रोसन पुरी

महासचिव