नेपाल पत्रकार महासंघ उदयपुर शाखाका पूर्वउपाध्यक्ष एवं प्रदेश सभासद् केदार कटुवालको उपचारका क्रममा ५६ वर्षको उमेरमा भएको असामयिक निधनको दुःखद् खबरले महासंघ स्तब्ध

मिति : २०७८।१०।२५

नेपाल पत्रकार महासंघ उदयपुर शाखाका पूर्वउपाध्यक्ष एवं प्रदेश सभासद् केदार कटुवालको उपचारका क्रममा ५६ वर्षको उमेरमा भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ ।

२०७८ माघ १६ गते उदयपुरको मदनभण्डारी स्मृति लोकमार्गमा आफैंले चलाएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका कटुवालको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारकै क्रममा माघ २४ गते सोमबार निधन भएको हो । स्वर्गीय कटुवालका श्रीमती र दुई छोरा छन् ।

उदयपुरको चौदण्डिगढी नगरपालिका–६ निवासी कटुवाल विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । पछिल्लो समय इमेज च्यानल टेलिभिजन र हिमालय टाइम्स दैनिकमा कार्यरत पत्रकार कटुवाल समाजसेवामा समेत सक्रिय हुनुहुन्थ्यो । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, अनुभवी र जुझारु पत्रकार गुमाएको छ भने महासंघले सक्रिय सदस्य गुमाएको छ ।

महासंघ स्वर्गीय पत्रकार कटुवालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।

रोसन पुरी

महासचिव