पत्रकारलाई दोषी ठहर गर्दै प्रेस विज्ञप्ति जारी गरेर स्वतन्त्र पत्रकारिता गर्नेहरूलाई त्रासमा राख्ने कार्य हुनु खेदजनक: महासंघ

मिति : २०७८।०८।१६

कान्तिपुर दैनिकमा प्रकाशित समाचारको विषयलाई लिएर प्रदेश दुई सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयको लेटरहेडमा ध्यानाकर्षण भन्दै प्रेस विज्ञप्ति जारी गरिएकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

मंसिर १४ गते मंगलबार कान्तिपुर दैनिकमा ‘मन्त्रीको अंगरक्षकको आतंक’ शीर्षक समाचारलाई लिएर प्रदेश दुई सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्रीका स्वकीय सचिव निकेश त्रिपाठीले उक्त समाचारप्रति ध्यानाकर्षण भन्दै मन्त्रालयको लेटरहेडमा प्रेस विज्ञप्ति जारी गरेको महासंघ सर्लाही शाखाले जनाएको छ ।

प्रकाशित समाचारप्रति चित्त नबुझे वा कुनै गुनासो रहे त्यसउपर कानुनी उपचारमा जान सकिने विकल्प र स्थापित पद्धति छ । त्यसलाई बेवास्ता गर्दै सार्वजनिक निकायका मन्त्रीजस्तो जिम्मेवार पदको निजी सचिवालयबाट पत्रकारलाई दोषी ठहर गर्दै यस किसिमले प्रेस विज्ञप्ति जारी गरेर स्वतन्त्र पत्रकारिता गर्नेहरूलाई त्रासमा राख्ने कार्य हुनु खेदजनक छ । महासंघ प्रेसलाई आतंकित पार्ने यो कार्यको घोर निन्दा गर्दछ । र, संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मान गरी प्रेसलाई निर्बाध र स्वतन्त्र रूपमा काम गर्ने वातावरण निर्माण गर्दै आगामी दिनमा यसखाले गतिविधि नगर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ ।

...................

रोसन पुरी

महासचिव