नेपाल पत्रकार महासंघ दोलखा शाखाका कार्यसमिति सदस्य रविन्द्र गौतमको कोरोना संक्रमणका कारण ३८ वर्षको अल्पायुमै भएको असामयिक निधनको दुःखद् खबरले महासंघ स्तब्ध

नेपाल पत्रकार महासंघ दोलखा शाखाका कार्यसमिति सदस्य रविन्द्र गौतमको कोरोना संक्रमणका कारण ३८ वर्षको अल्पायुमै भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि जेठ ९ गते चरिकोट अस्पतालबाट काठमाडौं ल्याई नयाँबानेश्वरस्थित एभरेष्ट अस्पतालमा उपचाररत गौतमको स्वास्थ्यमा थप समस्या आएपछि गएरातिदेखि भेन्टिलेटरमा राखी उपचार भैरहेकोमा आज दिउँसो उपचारकै क्रममा निधन भएको हो । स्वर्गीय गौतमका आमा, श्रीमती, ९ वर्ष र ६ महिनाकी दुई छोरी छन् ।

दोलखाको भिमेश्वर नगरपालिका–३ निवासी गौतम डेढ दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । इमेज च्यानल, अभियान आर्थिक दैनिक, नवतरंग साप्ताहिकलगायतमा काम गर्नुभएका गौतम पछिल्लो समय अन्नपूर्ण पोष्टको दोलखा सम्वाददाताका साथै रेडियो भिमेश्वरको स्टेशन म्यानेजरका रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, उर्जाशील र जुझारु युवा पत्रकार गुमाएको छ भने महासंघले सक्रिय सदस्य गुमाएको छ ।

महासंघ स्वर्गीय पत्रकार गौतमप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।

कोरोनाकै कारण हालसम्म १९ जना पत्रकारको निधन भएको छ भने ९ सयभन्दा बढी पत्रकार संक्रमित भएका छन् । पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढिरहेको छ । कोरोना संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा महासंघ सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपिल गर्दछ ।

रोसन पुरी

महासचिव