अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न
२०७४ भाद्र २९

नेपाल पत्रकार महासंघको प्रतिष्ठान शाखाका अध्यक्ष, उपाध्यक्ष र सचिवसँगको अन्तरक्रिया तथा छलफल कार्यक्रम आज भदौ २९ गते सम्पन्न भएको छ । सञ्चारग्रामस्थित महासंघको सभाहलमा भएको कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रतिष्ठान शाखाबाट उपस्थित पादाधिकारीहरुलाई धन्यबाद दिँदै प्रतिष्ठानको सुझाव तथा सल्लाह लिनका निम्ति कार्यक्रम राखिएको बताउनु भयो । उहाँले श्रमजीवि पत्रकारको हक हितका निम्ति सूचना विभाग, प्रेस काउन्सिल, न्यूनतम पारिश्रमिक समिति लगायतका सरकारी निकायहरुको सहकार्यमा अनुगमनमा जाने जानकारी गराउदै उहाँले सरकारी नियमअनुसार पत्रकारको सबभन्दा तल्लो तहको न्यूनतम पारिश्रमिक १९ हजार ५ सय रहेको बताउनु भयो । 
अध्यक्ष आचार्यले पत्रकार महासंघको शाखाहरु पत्रकारको हक हितका निम्ति लड्ने संस्थाका रुपमा स्थापना गरिएको हुँदा पत्रकारका जायज मागका लागि केन्द्रको आदेश नपर्खिन आग्रह गर्दै त्यसमा केन्द्रको ऐक्यवद्धता हुने पनि बताउनु भयो । उहाँले प्रतिष्ठान शाखा उपस्थित पदाधिकारीहरुलाई आफ्नो अधिकार पाउन आफै लड्नुपर्ने भन्दै उहाँले जो अन्याय सहेर बस्छ त्यसले कहिल्यै पनि न्याय पाउन नसक्ने धारणा राख्दै सञ्चार गृहले पत्रकारलाई ८ घण्टा काममा लगाएर कुनै पनि बहानामा न्यूनतम पारिश्रमिक तथा नियुक्तिपत्रबाट बञ्चित गरिन नहुने बताउनु भयो ।
कार्यक्रममा महासंघका सचिव रामप्रसाद दाहालले न्यूनतम पारिश्रमिक लगायत श्रमजीवी पत्रकारको सेवा–सर्त र सुविधाको विषयमा कुनै पनि हालतमा सम्झौता हुन नसक्ने बताउनु भयो ।
सहभागी विभिन्न प्रतिष्ठान शाखाका पदाधिकारीहरुले महासंघले न्यूनतम पारिश्रमिकका मुद्दामा मात्रै ध्यान नदिइ पत्रकारको सेवा सुरक्षा एंव क्षमता अभिवृदिका लागि समेत आवाज उठाउनु पार्ने सुझाव दिएका थिए ।