कार्टुनिष्ट क्लबले नागरिक दैनिकमा प्रकाशन भएको कार्टुनका विषयमा प्रेस काउन्सिल नेपालको २४ घण्टे स्पष्टिकरणकाे अवज्ञा गर्ने
२०७९ कार्तिक १५


कात्तिक १५, काठमाडाैं ।  कार्टुनिष्ट क्लब नेपालले नागरिक दैनिकमा प्रकाशन भएको कार्टुनका सन्र्दभमा प्रेस काउन्सिल नेपालको २४ घण्टे स्पष्टिकरणप्रति असहमति जनाउदै अवज्ञा गर्ने जनाएको छ । 

नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीको नेतृत्वमा गएको  कार्टुनिष्ट क्लब नेपालका प्रतिनिधिमण्डलले प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई मंगलबार भेटेर काउन्सिलको निर्णय सच्याउन माग गरेको छ । 

नेपाल कार्टुनिष्ट क्लबका अध्यक्ष बासु क्षितिजले व्यंग्य प्रर्दशन गर्नु नै  कार्टुनको उदेश्य रहेको बताउनुभयो । उहाँले कार्टुन पनि पत्रकारिताको अभिन्न अंग रहेको भन्दै काउन्सिलको स्पष्टिकरणले पत्रकारितालाई निरुत्साहन गर्ने बताउनुभयो । 

भेटमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिताको उत्कृष्ट विधा कार्टुनलाई रोक्ने मनसाय नरहेको बताउनुभयो । उहाँले काउन्सिल सदैब प्रेस स्वतन्त्रताको पक्षमा रहेको भन्दै संस्थाबाट कहिकतै कमिकमजोरी भए सच्याउन सकिने बताउनुभयो । 

नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले कार्टुन भनेको व्याङ्य गर्ने विषय नै भएका कारण यसका विषयमा प्रश्न गर्न नहुने बताउनुभयो ।  उहाँले कार्टुनमा प्रस्तुत भएको विषयले सम्बन्धित व्यक्तिले सार्वजनिक भाषणमा दिएका अभिव्यक्तिलाई समेटिएको हुँदा आपत्ति जनाउन आवश्यक नरहेको बताउनुभयो ।

नागरिक दैनिकका सम्पादक गुणराज लुइटेलले प्रकाशन भएको कार्टुनका विषयमा स्पष्टिकरण सोध्नु प्रेस स्वतन्त्रतामाथि नै शंका उत्पन्न भएको बताउनुभयो । उहाँले प्रेस काउन्सिल नेपाल जस्तो संस्था पत्रकार र प्रेस स्वतन्त्रताको हितमा क्रियाशील हुनुपर्नेमा अनुशासनको डण्डा घुमाउन नहुने बताउनुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका लेखा समिति संयोजक लेखनाथ न्यौपाने, केन्दीय सदस्य ज्ञानप्रसाद पौडेल, कार्टुनिष्ट क्लब नेपालका महासचिव रवि मिश्र र वरिष्ट कार्टुनिष्ट अविन श्रेष्ठले धारणा राख्नुभएको थियो । 

कार्टुनिष्ट क्लब नेपालका प्रतिनिधि र महासंघ बीच भएको छलफलमा प्रेस काउन्सिल नेपालले नागरिक दैनिकलाई २०७९ कार्तिक ३ गते सोधेको स्पष्टिकरणका विषयमा अवज्ञा गर्दै आइन्दा त्यस्ता गल्ति नगर्न प्रेस काउन्सिललाई सचेत गराएको छ ।