सामाजिक सञ्जालमार्फत संखुवासभाका सञ्चारमाध्यम र पत्रकारको मानमर्दन हुने गरी दिइएकाे अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

 

मिति :२०८०।१२।०८

जिल्ला भलिबल संघ संखुवासभाका अध्यक्ष मेदिनी घिमिरेले सामाजिक सञ्जालमार्फत संखुवासभाका पत्रकार र सञ्चारमाध्यमलाई लक्षित गर्दै व्यक्त गरिएको अभिव्यक्ति र सो अभिव्यक्तिमा विभिन्न व्यक्तिहरूबाट गरिएको अमर्यादित र अनावश्यक टीका–टिप्पणीप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

 
महासंघ संखुवासभा शाखाका अनुसार २०८० फागुन १५ देखि १९ गतेसम्म चलेको मुख्यमन्त्री राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सन्दर्भलाई लिएर भलिबल संघका अध्यक्ष घिमिरेले स्थानीय पत्रिकामा प्रतियोगिताको समाचार किन प्रकाशन भएन, समाचार प्रकाशन गर्न पत्रकारलाई के गर्नुपर्छ भनेर संखुवासभाका पत्रकार र सञ्चारमाध्यमलाई लाञ्क्षित गर्दै सामाजिक सञ्जालमा पोष्ट गरिएको थियो । सोही पोष्टमा विभिन्न व्यक्तिहरूबाट पत्रकार र सञ्चारमाध्यमलाई गालीगलौज गर्दै अनावश्यक टिका–टिप्पणी गरिएको थियो ।


सामाजिक सञ्जालमार्फत आफ्नो विचार अभिव्यक्त गर्नु र सामाजिक सञ्जालमा उठाएका विषयवस्तुमा टीकाटीप्पणी हुनु व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता हो । अभिव्यक्ति स्वतन्त्रताको नाममा कुनै पनि पक्षलाई आघात पुग्ने गरी अमर्यादित ढंगबाट सामाजिक सञ्जालमा प्रस्तुत हुनु अत्यन्त निन्दनीय अशोभनीय काम हो ।

 
भलिबल संघका जिम्मेवार पदाधिकारीबाट सामाजिक सञ्जालमा व्यक्त अभिव्यक्ति र त्यसमा गरिएको टिकाटिप्पणीले संखुवासभाको पत्रकार र सञ्चारमाध्यममाथि गम्भीर प्रहार भएको महासंघको ठहर छ ।
संखुवासभाका सञ्चारमाध्यम र पत्रकारको मानमर्दन हुने यस किसिमका निराधार अभिव्यक्तिहरू तत्काल हटाएर माफी माग्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै महासंघ प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गरी आगामी दिनमा यस किसिमका घटना दोहोरिन नदिन आवश्यक कदम चाल्न स्थानीय प्रशासनसँग माग गर्दछ । अन्यथा महासंघ यस किसिमका प्रेस विरोधी घटनाविरुद्ध कानुनी प्रक्रियामा जान बाध्य हुने जानकारी गराउँदछ ।
 
रोसन पुरी
महासचिव