नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य प्रेम स्याङ्तानको उपचारको क्रममा भएको असामयिक निधनको खबरले महासंघ स्तब्ध

 

मिति :२०८०।११।०२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य प्रेम स्याङ्तानको उपचारको क्रममा ४२ वर्षको उमेरमा भएको असामयिक निधनको खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित पत्रकार स्याङतानको उपचारत अवस्थामा आज बिहान सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा निधन भएको हो ।

 
पत्रकार स्याङतान विगत एक वर्षदेखि परिवारसहित नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको पत्रकार आवसगृहमा रहेर मिर्गौलाको डायलासिस र उपचार गराउँदै आउनुभएको थियो ।


वैदेशिक रोजगारीका सिलसिलामा रहँदा नेपाल पत्रकार महासंघ कतार शाखामा आवद्ध रही सहसचिवको जिम्मेवारी निर्वाह गर्नुभएका स्याङ्तानले स्वास्थ्य समस्याका कारण स्वदेश फर्किएर आफ्नो महासंघको सदस्यता काठमाडौं शाखामा स्थानान्तरण गर्नुभएको थियो । त्यस क्रममा उहाँले राजधानी दैनिकलगायतका पत्रपत्रिका काम गर्नुभएको थियो ।

 
पत्रकारिता क्षेत्रमा राम्रो पहिचान बनाउनु भएका स्याङतानकोे निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र ऊर्जाशील युवा पत्रकार गुमाउनुका साथै महासंघले सक्रिय सदस्य गुमाएको छ । स्वर्गीय स्याङतानका श्रीमती र दुई छोरीे हुनुहुन्छ ।


महासंघ स्वर्गीय पत्रकार स्याङतानप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।

रोसन पुरी
महासचिव