नेपाल पत्रकार महासंघ रौतहट शाखाका सदस्य कृष्ण तिवारीलाई समाचार संकलनका क्रममा कुटपिट गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण


मिति : २०८०।१०।२४


नेपाल पत्रकार महासंघ रौतहट शाखाका सदस्य कृष्ण तिवारीलाई समाचार संकलनका क्रममा कुटपिट गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

माघ २३ गते मंगलबार समाचार संकलनका लागि रौतहटस्थित बाबा बैजुनाथ सुगर मिल पुगेका पत्रकार तिवारीलाई सोही मिलका सञ्चालहरूले निर्घात कुटपिट गरी घाइते बनाएको महासंघ रौतहट शाखाले जनाएको छ । कुटपिटबाट पत्रकार तिवारीको छाती र टाउकोमा गहिरो चोट लागेको थियो ।

स्वतन्त्रतापूर्वक सञ्चारकर्ममा जुटेका पत्रकारलाई कुटपिट गरी घाइते बनाएको यो घटना अत्यन्त निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो । महासंघ घटनाको छानबिन गरी दोषीलाई तत्काल कानुनी दायरामा ल्याएर पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ ।

रोसन पुरी
महासचिव