महासंघ केन्द्रीय समितिको उपलब्ध पदाधिकारीकाे बैठक सम्पन्न: महासंघको २७औं महाधिवेशन सम्पन्न गर्न आवश्यक तयारीलाई तीब्रताका साथ अघि बढाउने

 

मिति :२०८०।१०।२३

आज मिति २०८० माघ २३ गते नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको उपलब्ध पदाधिकारी तथा सदस्यहरूको बैठक महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टको अध्यक्षतामा महासंघको केन्द्रीय कार्यालयमा बस्यो ।

बैठकले नेपाल पत्रकार महासंघको २७औं महाधिवेशन सम्पन्न गर्न आवश्यक तयारीलाई तीब्रताका साथ अघि बढाउँदै केन्द्रीय समितिको बैठक यथाशीघ्र बोलाउने निणर्य गरेको छ । बैठकले महाधिवेशनको प्रयोजनका लागि सदस्यतासहित शाखा, प्रतिष्ठान, एसोसिएट र प्रदेश समितिहरूको अधिवेशनसमेत सम्पन्न गर्ने आवश्यक तयारी अघि बढाउने निणर्य गरेको छ ।

नेपाल सरकारले संसद्को चालू अधिवेशनमा सञ्चार विधेयकहरू प्रस्तुत गर्ने तयारी गरेको विषयलाई सकारात्मक रुपमा लिँदै महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । सञ्चार सम्वद्ध विधेयकहरू नेपालको संविधान, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यता र हाम्रा अभ्यासहरूको आधारमा अघि बढाउन महासंघ सरकारसँग माग गर्दछ । साथै, विधेयकहरू महासंघसहितका सरोकारवाला पक्षहरूसँगको व्यापक छलफल र परामर्श गरेर संसदीय प्रक्रियामा लगियोस् भन्ने माग गर्दछ ।

समग्र सञ्चार क्षेत्र नै गम्भीर संकटमा परेको वर्तमान अवस्थामा सञ्चार क्षेत्रलाई संरक्षण गर्ने नीति अवलम्बन गर्दै स्वरोजगारमूलक सञ्चारमाध्यमले यतिबेला थप संकटको समाना गरेको यथार्थलाई ध्यान दिँदै लोककल्याणकारी विज्ञापनको वृद्धि, समानुपातिक विज्ञापनको वितरण, सञ्चारमैत्री वातावरण निर्माण गर्न र न्यू मिडियाहरूलाई वर्गीकरण गरी लोककल्याणकारी विज्ञापन वितरण गर्न महासंघ माग गर्दछ ।

२०८० मंसिर १५ गते नेपाल महासंघ र कान्तिपुर मिडिया ग्रुपबीच भएको सम्झौताको कार्यान्वयनको विषयमा बैठकले समीक्षा गरेको छ । उक्त सम्झौताको बुदाँ र भावना कार्यान्वयन गर्न कान्तिपुर व्यवस्थापन पक्ष पूणर्तः उदासिन भएको ठहर महासंघको छ ।

सम्झौता कार्यान्वयनका विषयमा महासंघले कान्तिपुर व्यवस्थापनसँग गरेको पटकपटकको पत्राचार र अनौपचारिक छलफलले समेत सकारात्मक नतिजा दिने संकेत नदेखिएकोले उक्त सम्झौता कार्यान्वयनका लागि सशक्त दबाब सृजना गर्दै आन्दोलनरत पक्ष र कान्तिपुर व्यवस्थापनबीच संयन्त्र गठन गरी छलफलका माध्यमबाट समाधान खोज्न एक हप्ताको समयसीमा दिने निणर्य महासंघले गरेको छ ।

उक्त समयसीमाभित्र समाधानको बाटोतर्फअघि नबढेमा फागुन २ गतेबाट कान्तिपुर परिसरभित्र अनिश्चितकालीन रिले अनसनको कार्यक्रम अघि बढाउँदै आमरण अनसनमा परिणत गरी सशक्त दबाब सृजना गर्ने निणर्य गरेको छ ।

गोविन्दप्रसाद चौलागाई

सचिव