पत्रकार पण्डितको निधनको खबरले महासंघ स्तब्ध

 

मिति :२०८०।१०।१७

नेपाल पत्रकार महासंघ गोरखापत्र प्रतिष्ठान शाखाका सदस्य शेषकान्त पण्डितको उपचारको क्रममा ४७ वर्षको उमेरमा भएको असामयिक निधनको खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ । लामो समयदेखि अर्बुद (क्यान्सर) रोगबाट पीडित पत्रकार पण्डितको उपचारत अवस्थामा आज बिहान ३ः०० बजे ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो ।

वि. सं. २०३३ साल वैशाखमा तनहुँको भानु नगरपालिका-१२ मा जन्मनुभएका पण्डित विगत १५ वर्षदेखि गोरखापत्र दैनिकमा कार्यरत हुनुहन्थ्यो । गोरखापत्र दैनिकमा सहसम्पादकको जिम्मेवारी निर्वाह गर्दै आउनुभएका पण्डित शिक्षा पत्रकार समाजको महासचिव हुनुहन्थ्यो ।

पत्रकारिता र सामाजिक अध्ययनको अध्यापनमा संलग्न पण्डितकोे निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु, ऊर्जाशील र अनुभवी पत्रकार गुमाउनुका साथै महासंघले सक्रिय सदस्य गुमाएको छ । स्वर्गीय पण्डितका श्रीमती, एक छोरा र एक छोरीे हुनुहुन्छ ।

महासंघ स्वर्गीय पत्रकार पण्डितप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।

रोसन पुरी

महासचिव