वरिष्ठ पत्रकार गोकुलप्रसाद पोखरेलको निधनको खबरले महासंघ स्तब्ध

 

मिति : २०८०।०९।१७

वरिष्ठ पत्रकार गोकुलप्रसाद पोखरेलको ८८ वर्षको उमेरमा उपचारको क्रममा २०८० पुस १६ गते सोमबार बिहान १०ः३० बजे काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । पत्रकार पोखरेल केही वर्षयतादेखि फोक्सो र मुटुसम्बन्धी रोगबाट ग्रस्त हुनुहुन्थ्यो ।

विक्रम संवत् १९९३ सालमा धनकुटाको कचिँडेमा जन्मनु भएका पोखरेल विगत चार दशकदेखि काठमाडौंमा रही पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । यस दौरान राष्ट्रिय समाचार समितिमा संवाददाताका रुपमा पत्रकारिता गर्नुभएका पत्रकार पोखरेलले राष्ट्रिय समाचार समितिमै कायमुकाय महाप्रवन्धको जिम्मेवारी वहन गर्नुका साथै गोरखापत्र दैनिक र गोरखापत्रकै साहित्यिक प्रकाशन मधुपर्क मासिकको कामु सम्पादक तथा गोरखापत्रकै सहप्रकाशन मुना मासिकको संस्थापक प्रधानसम्पादकसमेत भई कार्य गुर्नुभएको थियो ।

पत्रकारिता प्रशिक्षण संस्था नेपाल प्रेस इन्ष्पिटच्युट (एनपीआइ) का संस्थापक महासचिवको भूमिका निर्वाह गर्नुभएका पत्रकार पोखरेलले दुई पटक सोही संस्थामा अध्यक्षको जिम्मेवारी वहन गर्नुभएको थियो ।

नेपाली र अग्रेंजी दुबै भाषामा कलम चलाउँदै आउनुभएका पोखरेल राष्ट्रिय मानवअधिकार आयोगको सदस्यसमेत हुनुभएको थियो । गोरखापत्र संस्थानको राष्ट्रिय पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएका पोखरेलको पत्रकारितामात्र होइन पत्रकारिता शिक्षा र तालिममासमेत उल्लेखनीय योगदान रहेको छ ।

नेपाली पत्रकारिताको संस्थागत विकासका लागि महत्वपूणर् भूमिका निर्वाह गर्नुभएका वरिष्ठ पत्रकार पोखरेलको निधनबाट नेपाली पत्रकारिता जगत्ले एक योग्य, अनुभवी र एकजना मूर्धन्य व्यक्तित्व गुमाएको छ । उहाँको निधनलाई महासंघले पत्रकारिता जगतको अपूरणीय क्षतिको रूपमा लिएको छ । उहाँले पत्रकारिता क्षेत्रमा पुर्‍याउनु भएको योगदानको नेपाली पत्रकारिता जगत्ले सदा स्मरण गरिरहनेछ । स्वर्गीय पोखरेलका श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ ।

नेपाल पत्रकार महासंघ स्वर्गीय पोखरेलप्रति भावपूणर् श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा उहाँकी धर्मपत्नी र छोराछोरीसहित शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना प्रकट गर्दछ ।

 

रोसन पुरी

महासचिव