नेपाल पत्रकार महासंघ कालिकोट शाखाका सदस्य तथा स्मार्टकर्णाली न्यूज डटकमका सम्पादक लंकराज धमलालाई समाचारको विषयलाई लिएर दिइएको धम्कीको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मिति : २०८०।०७।१२

नेपाल पत्रकार महासंघ कालिकोट शाखाका सदस्य तथा स्मार्टकर्णाली न्यूज डटकमका सम्पादक लंकराज धमलालाई समाचारको विषयलाई लिएर दिइएको धम्कीको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

केही दिनअघि कालिकोटस्थित रास्कोट नगरपालिकाको सेवा प्रवाहका विषयमा स्थलगत रिपोर्टिङको भिडियो सार्वजनिक भएपछि पत्रकार धमलालाई नगरपालिकाका प्रमुखको सचिवलायका व्यक्ति तथा आफन्तजनले समाजिक सञ्जालमा विभिन्न आक्षेप लगाउँदै गालीगलौज गर्ने तथा फोनबाट धम्की दिने गरेको महासंघ कर्णाली प्रदेश समितिले जनाएको छ ।

संप्रेषित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसउपर कानुनी उपचार खोज्न सकिने वा सम्बन्धित निकायमा उजुरी गर्नसकिने प्रचलित प्रावधान छ । यसलाई नकार्दै सार्वजनिक पदधारी व्यक्तिका पक्षबाट पत्रकारलाई धम्क्याउने, सामाजिक सञ्जालमार्फत आक्षेप लगाउने कार्य अत्यन्त निन्दनीय र प्रेसविरोधी हर्कत हुन् । महासंघ प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र यस्ता हर्कत दोहोरिन नदिन आवश्यक कदम चाल्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।

रोसन पुरी

महासचिव