कान्तिपुर मिडिया ग्रुपमा भइरहेको श्रम अधिकारको आन्दोलनका सन्दर्भमा नेपाल पत्रकार महासंघ कान्तिपुर दैनिक प्रतिष्ठान शाखाको नाममा आएको प्रेस विज्ञप्ति र समाचारका विषयमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

 

मिति : २०८०/०७/०१


कान्तिपुर मिडिया ग्रुपमा भइरहेको श्रम अधिकारको आन्दोलनका सन्दर्भमा नेपाल पत्रकार महासंघ कान्तिपुर दैनिक प्रतिष्ठान शाखाको नाममा आएको प्रेस विज्ञप्ति र समाचारका विषयमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

कान्तिपुर व्यवस्थापनको योजनामा महासंघ प्रतिष्ठान शाखाकै नाममा महासंघमाथि गम्भीर आक्षेप लगाइएकोप्रति आपत्ति प्रकट गर्दै महासंघ आरोप प्रमाणित गर्न चुनौती समेत दिन चाहान्छ ।
८२ जना श्रमजीवी पत्रकारलाई गैरकानुनी निष्कासन र सरुवा गरेको तथ्य प्रष्ट हुँदाहुदै महासंघमाथि राजनीतिक प्रतिशोधको आरोप लगाउनु आफैमा पूर्वाग्रही र महासंघ प्रतिष्ठान शाखाको चरम दुरुपयोग हो भन्ने कुरामा कुनै शंका छैन । महासंघ यस्तो अनैतिक कर्मको कडा शब्दमा विरोध गर्दछ ।

साथै, महासंघले कान्तिपुरमा भएको श्रम आन्दोलनलाई थप सशक्त बनाउदै वार्ता र सम्वादको विकल्पलाई समेत खुला राखेको समेत प्रष्ट पार्न चाहान्छ ।
कान्तिपुर मिडिया ग्रुपमा देखा परेको श्रम समस्या समाधानका लागि गत जेठमै महासंघले कान्तिपुर मिडिया ग्रुपलाई पत्राचार गरेको थियो । त्यस्तै जेठ ३० गते महासंघले विज्ञप्ति जारी गरी व्यवस्थापनलाई ध्यानाकर्षण गराइएको थियो । तर महासंघको आग्रहलाई अटेर गर्दै एकपछि अर्को अनधिकृत सरुवा, निष्कासन तथा पत्रकारलाई हतोत्साही बनाउने कार्य जारी रहेपछि साउन ८ गते पुनः अर्को विज्ञप्ति निकालेर व्यवस्थापनको ध्यानाकर्षण गरिएको थियो । श्रमजीवी पत्रकार ऐनअनुसारका सेवा सुविधा उपलब्ध गराउन महासंघले कान्तिपुर व्यवस्थापन पक्षसँग पटक पटक आग्रह गरेको तथ्य स्पष्ट छ ।

पत्रकारलाई गैरकानुनी ढंगले निष्कासन, सरुवा, तलब रोक्का भएपछि असोज १४ गते महासंघ कान्तिपुर दैनिक प्रतिष्ठान शाखाका अध्यक्ष अनिल गिरी र उपाध्यक्ष बुद्धिसागर मरासिनी केन्द्रीय कार्यालय सञ्चारग्राममा भौतिक रुपमा उपस्थित भई कान्तिपुरको श्रम समस्या समाधानका लागि आन्दोलनमा आइदिन केन्द्रीय समितिलाई अनुरोध गरेलगत्तै महासंघले विज्ञप्ति जारी गरेको थियो ।
श्रमजीवी पत्रकार ऐन, प्रचलित विधि र पद्धतिविपरीत पत्रकारलाई पेशाबाट निष्कासन गर्ने, कानुनविपरीत सरुवा गर्ने, काम गर्ने वातावरण नदिने र लामो समयको योगदानको अवमूल्यन गर्दै अपमानित गर्ने कार्य किमार्थ स्वीकार्य नहुने महासंघले उक्त विज्ञप्तिमा प्रष्ट पारेको थियो । यसक्रममा कान्तिपुर व्यवस्थापन औपचारिक÷अनौपचारिक रुपमा केन्द्रीय पदाधिकारीसँग सम्वादमा थियो भने प्रतिष्ठान शाखामार्फत् वार्तामा थियो ।
तर वार्ता चलिरहँदा प्रतिष्ठान शाखाको लेटरहेड व्यवस्थापन पक्षबाट दुरुपयोग हुने, व्यवस्थापनकै हीतमा वार्तामा प्रस्तुत हुने र केन्द्रीय समितिले श्रमजीवी पत्रकार ऐन र कानुनी व्यवस्था विपरीत हतारमा कुनै सम्झौता नगर्न दिएको निर्देशनलाई अटेर गरी सम्झौता गर्ने र गरेको सम्झौता समेत प्रतिष्ठान शाखा र केन्द्रीय समितिलाई प्रष्ट जानकारी नदिई गोप्य राख्ने कार्य महासंघ केन्द्रीय समितिलाई स्वीकार्य छैन ।

बहुसंख्यक पत्रकारहरूले गरिएको भनिएको सम्झौतालाई नमानेपछि केन्द्रीय समितिमा सामूहिक उजुरी दिएपछि केन्द्रीय समितिले आन्दोलनको घोषणा गरेको हो । पत्रकार महासंघ प्रेस स्वतन्त्रता र श्रम अधिकारका सबालमा कसैसँग किमार्थ सम्झौता गर्दैन । यो तथ्यलाई बिर्सेर पत्रकारहरूमाथि भएको श्रम शोषणको मुद्दालाई विषयान्तर गर्ने षड्यन्त्र हो । यो शाखाको लेटरहेड प्रयोग गरेर कान्तिपुर व्यवस्थापनले जारी गरेको जालझेलपूर्ण वक्तव्य हो । यसमा शाखा अध्यक्षको हस्ताक्षर प्रयोग हुनु दुर्भाग्यपूर्ण हो । यस सम्बन्धमा महासंघले शाखालाई विधानअनुसार कारबाहीको प्रकृया अगाडि बढाएको छ । 

सुरुदेखि नै पत्रकार महासंघको निम्न चार विषयमा चासो थियो–
१. कान्तिपुर प्रतिष्ठानमा ८२ जना पत्रकारमाथि भएको कारबाही तत्काल फिर्ता
२.कान्तिपुरमा कार्यरत पत्रकार तथा कर्मचारीलाई श्रमजीवी पत्रकार ऐनअनुसार न्यूनतम पारिश्रमिक तथा सेवासुविधा
३. रोकिएको पारिश्रमिक र दसैँ भत्ता तत्काल भुक्तानी
४. वार्ता र सम्वादमार्फत् सबै समस्याको समाधान ।

व्यवस्थापनका प्रतिनिधिहरूसँग महासंघले यी विषयमा छलफल गरिरहँदा महासंघ शाखाको लेटरहेड प्रयोग गरी महासंघकै विरुद्ध वक्तव्य आएकाले यसलाई महासंघले श्रमजीवी पत्रकारहरूले उठाएका जायज मागहरूलाई विषयान्तर गर्ने गम्भीर षड्यन्त्रका रुपमा लिएको छ ।

पत्रकार महासंघले श्रमजीवी पत्रकारहरूको हीतमा गरिरहेका संघर्षका कार्यक्रम र आन्दोलन कान्तिपुर मिडिया ग्रुपसहित नेपालका सम्पूर्ण सञ्चार प्रतिष्ठानहरू जोगाउने अभियान पनि हो । तर कानुन पालना गर्न गरिएको आग्रहलाई एउटा निश्चित मिडिया हाउसविरुद्ध ‘राजनीतिक प्रतिशोध र योजनाबद्ध प्रहार’ का रुपमा व्याख्या गरेर कान्तिपुरले श्रमजीवी पत्रकारहरूको संस्था पत्रकार महासंघलाई लाञ्छित मात्र गरेको छैन, कान्तिपुर मिडिया ग्रुपलाई स्थापित गर्न अहोरात्र खटेका पत्रकारहरूको न्यायपूर्ण आवाजलाई समेत अपमान गरेको छ ।


................
रोसन पुरी
महासचिव