बागमती टेलिभिजनका संवाददाताद्वय गौरव अधिकारी र सुमन निरौलालाई समाचार संकलनका क्रममा सिर्जनात्मक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामजी कँडेललगायतका व्यक्तिहरूले ज्यान मार्ने धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मिति :२०८०।०४।३१

काठमाडौंबाट प्रसारण हुँदै आइरहेको बागमती टेलिभिजनका संवाददाताद्वय गौरव अधिकारी र सुमन निरौलालाई समाचार संकलनका क्रममा लमजुङ नगरपालिका–९ स्थित भोटेओडार सिर्जनात्मक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामजी कँडेललगायतका व्यक्तिहरूको संलग्नतामा ज्यान मार्ने धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

टेलिभिजनका अनुसार उक्त सहकारीमा अनमियता भैरहेको जानकारी प्राप्त भएपछि साउन ३० गते मंगलबार पत्रकारद्वय अधिकारी र निरौला समाचार संकलनका लागि काठमाडौंबाट लमजुङस्थित सहकारी पुगेर अध्यक्ष कँडेललाई अनियमितताका बारे भनाइ राख्न आग्रह गरेका थिए ।

तत्पश्चात अध्यक्ष कँडेलले चिया खाँदै कुरा गर्ने भन्दै सहकारीका अन्य पदाधिकारी तथा व्यवस्थापकसहित पत्रकारद्वयलाई स्थानीय एक होटलमा लगेर लमजुङस्थित सुन्दरबजार नगरपालिका वडा नं ८ र ९ का वडा अध्यक्षसमेतको संलग्नतामा बन्धक बनाइ ज्यान मार्ने धम्की दिनुका साथै परिचयपत्र र अन्य सामग्री पनि नियन्त्रणमा लिएको टेलिभिजनले जनाएको छ ।

स्वतन्त्रतापूर्वक सञ्चार कर्ममा जुटेका पत्रकारमाथि सहकारीका जिम्मेवार पदाधिकारी तथा वडाका अध्यक्षसमेतको संलग्नतामा भएको यो हर्कत अत्यन्त निन्दनीय, गैरजिम्मेवार र प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो । महासंघ पत्रकारलाई हतोत्साहित र त्रसित बनाउने यो कार्यमा संलग्नमाथि कानुनबमोजिम कारबाही गर्न र पत्रकारको सुरक्षामा विशेष ध्यान दिई निर्वाध प्रेस स्वतन्त्रताको उपभोगको वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।

रोसन पुरी

महासचिव