जिल्ला प्रशासन कार्यालय सप्तरीले पत्रकारलाई बिनाअनुमति कार्यालयभित्रको फोटो खिच्न, सामाजिक सञ्जाल र अनलाइन पत्रपत्रिकामा राख्न रोक लगाउँदै साउन २३ गतेको मिति राखेर साउन २४ गते जारी गरेको सूचनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

 

मिति :२०८०।०४।२५

जिल्ला प्रशासन कार्यालय सप्तरीले पत्रकारलाई बिनाअनुमति कार्यालयभित्रको फोटो खिच्न, सामाजिक सञ्जाल र अनलाइन पत्रपत्रिकामा राख्न रोक लगाउँदै साउन २३ गतेको मिति राखेर साउन २४ गते जारी गरेको सूचनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएको छ । यसलाई बेवास्ता गर्दै जिल्ला प्रशासन कार्यालयका जिम्मेवार अधिकारीको नामबाट जारी भएको सूचनाले सप्तरीमा पत्रकार र सञ्चारमाध्यमको अधिकारलाई कुण्ठित गर्ने कार्यमा प्रशासन नै उद्धत रहेको स्पष्ट छ ।

जिल्लामा शान्ति, सुरक्षा र सुशासन कायम गर्ने कार्यमा जुट्नुको साटो जिल्लाका पत्रकार र सञ्चारमाध्यमका अधिकारलाई रोक लगाउने उद्देश्यले जिल्ला प्रशासनले अपनाएको यो शैली प्रेस स्वतन्त्रतामाथि नाङ्गो हस्तक्षेप हुनुका साथै प्रचलित कानुन र संविधानविपरीत रहेको महासंघको ठहर छ । प्रशासनको यो कदमले पत्रकार र सञ्चारमाध्यमको अधिकार र सुरक्षाको विषयसमेत चुनौतीपूर्ण बनेको छ ।

प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने मनसायले जिल्ला प्रशासनले अपनाएको यो कदमप्रति महासंघ आपत्ति प्रकट गर्दै खेद व्यक्त गर्दछ । संविधानको प्रस्तावनामै ग्यारेण्टी भएको पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गरी यो सूचना तत्काल फिर्ता लिएर पत्रकारलाई पूर्ण प्रेस स्वतन्त्रताको उपभोगको वातावरण बनाउन महासंघ जिल्ला प्रशासन कार्यालय सप्तरीको ध्यानाकर्षण गराउँदछ ।

यसैबीच महासंघ सप्तरी शाखाले उक्त उर्दी फिर्ताका माग राख्दै चरणवद्ध आन्दोलनमा रहेको छ । सो आन्दोलनप्रति महासंघ केन्द्रीय समितिको ऐक्यवद्धता रहेको जानकारी गराउँदै शाखाको मागअनुसार पत्रकार र सञ्चारमाध्यमका लागि जारी उर्दी फिर्ता भएपछिमात्र  छलफल र वार्तामा जाने स्पष्ट गराइन्छ ।


...................
रोसन पुरी
महासचिव