केन्द्रीय सदस्य त्रिभुवन पौडेलको विमान दुर्घटनामा निधनले महासंघ स्तब्ध र शोकमग्न : १३ दिनसम्म केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय

 

मिति : २०७९।१०।०१

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको ३७ वर्षको अल्पायुमै विमान दुर्घटनामा निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र शोकमग्न भएको छ । आज बिहान काठमाडौंबाट पोखराको लागि उडेको नाइनएन एएनसी एटिआर–७२ जहाज अवतरण गर्ने क्रममा पोखराको पुरानो एयरपोर्ट र नयाँ एयरपोर्टको बीचमा दुर्घटनाग्रस्त हुँदा केन्द्रीय सदस्य पौडेलको निधन भएको छ ।

पत्रकार पौडेल २०७७ फागुन ५ गते भएको नेपाल पत्रकार महासंघको २६औं महाधिवेशन (२०७७ चैत २५मा सम्पन्न चुनाव)बाट निर्वाचित भई केन्द्रीय सदस्य हुनुहुन्थ्यो । २०७४ सालमा महासंघको गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्षका रूपमा रहेर काम गरेका पत्रकार पौडेलले त्यसअघि महासंघ कास्की शाखामा एकपटक उपाध्यक्ष र दुईपटक सचिवका रूपमा रही योगदान दिनुभएको थियो ।

पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरु गर्नुभएका पौडेलले अन्नपूर्ण एफएम र केही समय नेपाल टेलिभिजनमा स्ट्रीन्जरका रूपमा काम गर्नुभएको थियो । विभिन्न पत्रपत्रिकामा स्तम्भ र लेख लेख्दै आउनुभएका पत्रकार पौडेल पछिल्लो समय पोखरा हटलाइन दैनिक पत्रिकाकै प्रकाशक÷सम्पादकका रूपमा कार्यरत हुनुहुन्थ्यो । स्वर्गीय पौडेलका आमा, श्रीमती र एक छोरा हुनुहुन्छ ।

उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी, जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको छ भने महासंघले उदयीमान पत्रकार नेता गुमाएको छ । कास्की जिल्लाबाट पत्रकारिता क्षेत्रमा राम्रो पहिचान बनाएका पौडेलको निधनले नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।

नेपाल पत्रकार महासंघ स्वर्गीय पौडेलसहित विमान दुर्घटनामा निधन भएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त सम्पूर्णको परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछ ।

यसैबीच नेपाल पत्रकार महासंघ उपलब्ध केन्द्रीय समितिको आकस्मिक बैठक बस्यो । महासंघका अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय सदस्य पौडेलको निधनमा महासंघ केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको छ । जसअन्तर्गत भोलि २०७९ माघ २ गते सोमबार महासंघका केन्द्र, प्रदेश र सबै शाखा कार्यालय बन्द गर्ने तथा १३ दिनसम्म शोकसभा बाहेकका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने एवं भोलिदेखि नै १३ दिनसम्म केन्द्रीय कार्यालयलगायत प्रदेश र शाखा कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।

 

रोसन पुरी

महासचिव