पत्रकार पुजन घिमिरेलाई समाचारको विषयलाई लिएर भएको आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

मिति : २०७९।०७।३०

नेपाल पत्रकार महासंघ झापाका सदस्य तथा सगरमाथा टेलिभिजनका झापा संवाददाता पुजन घिमिरेलाई समाचारको विषयलाई लिएर भएको आक्रमण र घिमिरे सवार सवारी साधनमा भएको तोडफोडको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

महासंघ झापा शाखाका अनुसार २०७९ कात्तिक २९ गते बिर्तामोडस्थित पपुलर होटलमा खाजा खान बसेको अवस्थामा पत्रकार घिमिरेमाथि अचानक होटल प्रवेश गरेका स्थानीय नितेश डाँगी नाम गरेका व्यक्तिले ‘समाचार किन लेखेको’ भन्दै सिसाको बोतल प्रहार गर्नुका साथै पत्रकार घिमिरेको सवारी साधनमा ईंटा प्रहार गरी तोडफोड गरेका थिए ।

संप्रेषित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसउपर कानुनी कारबाहीको प्रक्रियामा जानसकिने प्रवाधान हुँदाहुँदै पत्रकारमाथि आक्रमण गरिनु र पत्रकारको सवारी साधन तोडफोड गरिनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी काम हो । महासंघ पत्रकारलाई हतोत्साहित र असुरक्षित बनाउने यस्ता घटनामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याएर पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ ।

रोसन पुरी

महासचिव