मकवानपुर शाखाका पूर्वसभापति पाण्डे र लुम्बिनी प्रदेश समितिका सदस्य रानाको निधनमा महासंघद्वारा शोक व्यक्त

 

मिति : २०७९।०७।१४

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका पूर्वसभापति अग्रज पत्रकार कौशल पाण्डेको ७५ वर्षको उमेरमा असामयिक निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । कलेजोमा क्यान्सर भई ६ महिनादेखि उपचार गराइरहनु भएका पाण्डेको २०७९ कात्तिक १० गते बिहीबार साँझ ५ः४५ बजे हेटौंडा उपमहानगरपालिका ४ स्थित निवासमा निधन भएको हो ।

वि.सं. २००४ मंसिर १५ गते उदयपुरको सिरूवानीमा जन्मनुभएका पाण्डे हेटौडामा रही पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । वि.संं २०४० सालदेखि रौतहटबाट हिमालबास मासिक पत्रिकाबाट पत्रकारिता सुरु गर्नुभएका पाण्डेले २०४२ सालमा हेटौंडाबाट प्रयास त्रैमासिक साहित्यिक पत्रिकाको प्रकाशन आरम्भ गर्नुभएको थियो । हाल साप्ताहिक रूपमा हेटौंडाबाटै प्रकाशन हुँदै आएको उक्त पत्रिकामा आवद्ध रहेका पाण्डे हेटौंडा सन्देश दैनिकको संस्थापक सम्पादकसमेत हुनुहुन्थ्यो । उहाँको निधनबाट नेपाली पत्रकारिता जगत्ले एक योग्य र अनुभवी पत्रकार गुमाएको छ भने महासंघले सक्रिय सदस्य गुमाएको छ । स्वर्गीय पाण्डेका श्रीमती, एक छोरा र एक छोरीे हुनुहुन्छ ।

यसैगरी नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य टेक मास्की रानाको ४८ वर्षको अल्पायुमै उपचारको क्रममा निधन भएको दुःखद् खबर महासंघ स्तब्ध भएको छ । डेंगु सक्रमित भई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आइसियुमा उपचाररत रहेकै अवस्थामा मिर्गौला र जण्डिसको समेत समस्या देखिएका रानाको उपचारकै क्रममा २०७९ कात्तिक ९ गते बुधबार निधन भएको हो । स्याङ्जाको कालीगण्डकी गाउँपालिका-३ बिर्घा स्थायी घर भएका राना बुटवलमा रही सक्रिय पत्रकारितामा गर्दै आउनुभएको थियो । बुटवलस्थित रेडियो जागरणमा समाचार प्रमुखको रूपमा कार्यरत रानाको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र उर्जावान पत्रकार गुमाएको छ । स्वर्गीय रानाका दुई छोरी र एक छोरा छन् ।

नेपाल पत्रकार महासंघ स्वर्गीय पाण्डे र रानाप्रति भावपूणर् श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा स्वर्गीय पत्रकारद्वयका शोकसन्तप्त परिवारजनमा धैर्यधारणको कामना र गहिरो समवेदना प्रकट गर्दछ ।

रोसन पुरी

महासचिव