प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्रीकाे पत्रकार लक्षित धम्कीपूर्ण धारणाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मिति २०७९।०३।३१

प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीबाट सञ्चारमाध्यममा अन्तर्वार्ता दिने क्रममा पत्रकारलाई लक्षित गर्दै व्यक्त धम्कीपूर्ण धारणाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

महासंघ मोरङ शाखाका अनुसार विराटनगर महानगरपालिका–१२ स्थित सुकुम्वासी बस्ती निर्माणका लागि प्रदेश सरकारबाट आएको बजेटका सन्दर्भमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएका समाचारहरूलाई लिएर असार २७ गते सोमबार दिएको अन्तर्वार्तामा मन्त्री कार्कीले ‘समाचार लेख्ने पत्रकारले बलात्कार ग¥यो भनेर समाचार आए उसले खण्डन गर्न सक्छ ?’ भन्ने जस्ता धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए ।

समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी उपचारमा जानसकिने प्रावधान र स्थापित पद्धति छ । त्यसलाई बेवास्ता गर्दै समाचारको खण्डन गर्ने नाममा मन्त्रीजस्तो गरिमामय र जिम्मेवार पदमा आसिन व्यक्तिबाट व्यक्त भएका धारणा आपत्तिजनक र प्रेस स्वतन्त्रताविरोधी छ ।

पत्रकारलाई पेशाप्रति हतोत्साहित र असुरक्षित बनाउने यस किसिमको धम्कीको कडा भर्त्सना गर्दै महासंघ संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकार र स्वतन्त्रताको ख्याल र सम्मान गरी यस्ता हर्कत नदोहोर्‍याउन प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।

रोसन पुरी

महासचिव