वरिष्ठ पत्रकार रामबहादुर चन्दको निधनकाे खवरले महासंघ स्तब्ध

मिति : २०७८।०६।२०

नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका संस्थापक सभापति एवं प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार रामबहादुर चन्दको निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । ९३ वर्षीय चन्दको आज काठमाडौंमा निधन भएको हो । पाँच दशकभन्दा बढी पत्रकारितामा सक्रिय रहेका चन्दलाई नेपाल पत्रकार महासंघले २०५७ सालमा 'प्रेस स्वतन्त्रता सेनानी सम्मान' प्रदान गरेको थियो । उहाँले वि. सं. २०२६ सालमा महाकाली सन्देश साप्ताहिकमा सम्पादक/प्रकाशक भई पत्रकारिता सुरु गर्नुभएको थियो । तत्पश्चात उहाँको सम्पादकत्व र प्रकाशकत्वमा वि.सं. २०३३ सालमा वार्ता साप्ताहिक, वि.संं. २०४९ सालमा जनवार्ता अर्धसाप्ताहिक र वि.सं. २०५३ सालमा चुरे टाइम्स दैनिक पत्रिका प्रकाशन भएको थियो । सुदूरपश्चिम प्रदेशकै पत्रकारिताका धरोहरका रूपमा रहेका चन्दको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी र निर्भीक पत्रकार गुमाएको छ भने महासंघ कञ्चनपुर शाखाले अभिभावक गुमाएको छ । नेपाल पत्रकार महासंघ स्वर्गीय चन्दप्रति हार्दिक श्रद्घाञ्जली अर्पण गदै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, यस दुःखद् घडीमा महासंघ शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।

रोसन पुरी

महासचिव