प्रसारित समाचार सामग्रीलाई लिएर पत्रकार सन्जिव रेग्मीलाई भौतिक कारबाहीको धम्की दिनुका साथै प्रहरीले पक्राउका लागि खोजतलास गरिरहेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

मिति : २०७८।०५।२४

हेडलाइन मिडिया प्रालिद्वारा प्रसारण गर्दै आएको ‘हेडलाइन विशेष’ कार्यक्रममा सागर थापा भन्ने व्यक्तिको विषयमा प्रसारित समाचार सामग्रीलाई लिएर पत्रकार सन्जिव रेग्मीलाई भौतिक कारबाहीको धम्की दिनुका साथै प्रहरीले पक्राउका लागि खोजतलास गरिरहेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

निज थापाले गरेका विभिन्न ठगी धन्दालगायतका विषयमा उक्त कार्यक्रममा पटकपटक समाचार सामग्री प्रसारण भएपछि प्रहरीले थापालाई पक्राउ गरेको छ । निज थापाले पक्राउ पर्नुअगाडि पत्रकार रेग्मीलाई सामाजिक सञ्जाल (फेसबुक र युट्युव) मार्फत भौतिक कारबाहीको धम्की दिनुका साथै फोनबाट र गुण्डा लगाएर बाटो कुरेरसमेत धम्काएको रेग्मीले महासंघमा गुनासो गर्नुभएको छ ।

पक्राउ परेपछि निज थापाकी पत्नी शान्ति बस्नेत र सिर्जना वाग्ले भन्ने महिलाले सामाजिक सञ्जाल (फेसबुक र युट्युव) मार्फत भौतिक कारबाहीको धम्की दिनुका साथै थापा पत्नी शान्ति बस्नेतले बिनाप्रमाण झूटो आरोप लगाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी गरेपछि पत्रकार रेग्मीलाई पक्राउका लागि प्रहरीले खोजतलास गर्नुका साथै कार्यालय र निवासमा निगरानी गरिरहेको पीडित पत्रकारले जानकारी गराउनु भएको छ ।

प्रसारित समाचार सामग्रीप्रति चित्त नबुझे या गुनासो रहेमा त्यसउपर कानुनी उपचारमा जान सकिने प्रावधान हुँदाहुँदै पत्रकार रेग्मीलाई भौतिक कारबाहीको धम्की दिनु, झूटो आरोपमा प्रहरीले पक्राउका लागि खोजी कार्य गरिएको घटना आपत्तिजनक र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो । सुनियोजित रूपमा पत्रकारलाई फसाउने र पक्राउ गर्ने नियत रहेको यो घटनाले पत्रकारको सुरक्षा थप चुनौतीपूर्ण भएको छ । महासंघ घटनाको छानबिन गरी दोषीउपर कानुनी कारबाहीको माग गर्दै पत्रकारको सुरक्षामा गम्भीर हुन र पत्रकारलाई निर्वाध प्रेस स्वतन्त्रताको उपभोगको वातावरण निर्माण गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ ।

रोसन पुरी

महासचिव

May be an image of text